काठमाडौ ।
नेपालीहरूको महान चाड बडादशैँको रन्को गाउँ–शहरमा फैलिन थाल्दा गण्डकीको मुख्य व्यापारिक केन्द्र पोखरामा छुट्टै चहलपहल थपिन्छ । त्यो चहलपहल हो, समुन्द्री सतहदेखि ४ हजार मिटरभन्दा अग्लो तिब्बती सीमावर्ती पठारबाट हिँडाएर ल्याइने रैथाने हिमाली च्याङ्ग्राको आगमन । यसपालि मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, उपल्लो डोल्पाको विकट खर्कहरू र दार्चुलाको हिमाली खण्डबाट १३ हजारभन्दा बढी च्याङ्ग्रा पोखरा ओराल्ने लक्ष्य राखिएको छ । हिमाली हावापानी र स्वच्छ प्राकृतिक खर्कमा चरेका यी च्याङ्ग्राहरू केवल मासुका लागि मात्र होइनन्, नेपाली मौलिक चाडपर्वको अभिन्न सांस्कृतिक र आर्थिक धरोहर हुन् । तर यो यात्रा सहज थिएन । कालीगण्डकी करिडोरमा यस वर्ष आएको अविरल वर्षा, भीषण बाढी र पहिरोले बाटो ठाउँ–ठाउँमा अवरुद्ध पारेको थियो । दार्चुलाबाट आएका व्यापारीहरूले ४ दिनसम्म निरन्तर कष्टकर ढुवानी र मुस्ताङका गोठालाहरूले हप्तौंको पदयात्रा गरेर च्याङ्ग्रा सुरक्षित पोखराको आँगनमा पु¥याएका छन् ।
बाढीपहिरोको सास्ती खेपेर आफैं बजार आइपुगेका जनप्रतिनिधि
वडाअध्यक्ष सुरेन्द्र गुरुङको सादगी, संघर्ष र किसानप्रतिको प्रत्यक्ष उत्तरदायित्व
सामान्यतया स्थानीय तहका निर्वाचित प्रतिनिधिहरू नीति–निर्माण र प्रशासनिक बैठकहरूमा व्यस्त देखिन्छन् । तर मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष सुरेन्द्र गुरुङले यसपटक एउटा अनौठो र प्रेरणादायी उदाहरण प्रश्तुत गर्नुभएको छ । उहाँ आफ्नो वडालाई च्याङ्ग्राको ‘पकेट क्षेत्र’ घोषणा गरेर मात्र रोकिनुभएन । किसान र आफ्नै गोठका सयौं च्याङ्ग्राहरू धपाउँदै आफैं पोखराको याम्दी बजारमा ओर्लिनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘हिमाली जडिबुटी खाएको हाम्रो गाउँघरको रैथाने काठे च्याङ्ग्रा अरू जस्तो हुँदैन, यसको मासु निकै स्वादिलो र स्वस्थ हुन्छ ।’
कालीगण्डकी नदीमा आएको बाढीले मुस्ताङ–पोखरा सडकखण्डका कयौं खण्ड बगाउँदा भोक, निन्द्रा र चिसो मौसमको सामना गर्दै गुरुङको टोलीले च्याङ्ग्रा जोगाउँदै ओराल्यो । याम्दीको हाटमा च्याङ्ग्रा समातेर ग्राहकहरूसँग संवाद गरिरहेका वडाअध्यक्ष गुरुङको मुहारमा थकानभन्दा बढी रैथाने उत्पादन राजधानी र शहरी उपभोक्तासम्म पु¥याएको गर्व झल्किन्थ्यो ।
‘हाम्रा किसानहरूले वर्षभरि हिमाली चिसो र खर्कमा गरेको पसिनाको मूल्य विचौलियाले होइन, किसान स्वयंले पाउनुपर्छ भन्ने मेरो अठोट हो ।’ वडाअध्यक्ष गुरुङ भन्नुहुन्छ ।
उहँको यो उपस्थिति केवल व्यापार मात्र होइन, श्रमको सम्मान र उत्पादनमूलक राजनीतिको सटिक नमूना बनेको छ ।
‘राजनीति जनताको जीवनसँग जोडिनुपर्छ । जब हाम्रा गोठाला बाढीपहिरोमा जोखिम मोलेर च्याङ्ग्रा हिँडाउँछन्, तब वडाअध्यक्ष कुर्सीमा बसेर हेरिरहन सक्दैन ।’
याम्दीमा व्यवस्थित खोर र प्रविधिको पाइला
जौवारी वन उपभोक्ता समिति र मिलनजंग राणाको अगुवाइमा शुरु भएको आधुनिक व्यवस्थापन
विगतका वर्षहरूमा पोखराको मुख्य सडक किनार, चौर र गल्लीहरूमा च्याङ्ग्रा राख्दा धुलो, फोहोर, ट्राफिक जाम र मूल्यमा अन्धाधुन्ध मोलमोलाइ हुने गथ्र्यो । यसपटक भने पोखराको याम्दीमा त्यो दृश्य पूर्ण रूपमा फेरिएको छ । जौवारी वन उपभोक्ता समितिका सदस्य एवं खसी–बोका तथा च्याङ्ग्रा व्यवस्थापन समितिका संयोजक मिलनजंग राणाको सक्रिय पहलमा सडक छेउमा ५० भन्दा बढी व्यवस्थित, सुरक्षित र हावाहुरी थेग्ने काठे खोरहरू निर्माण गरिएका छन् ।
प्रत्येक खोरमा पानी, दाना र बस्ने ठाउँको व्यवस्था मिलाइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा, ग्राहक र व्यापारीबीच पारदर्शिता ल्याउन डिजिटल डिजिटल तौल काँटा राखिएको छ । उपभोक्ताले अब आँखाको अन्दाजमा होइन, वास्तविक वजनका आधारमा न्यायोचित मूल्य तिरेर च्याङ्ग्रा किन्न सक्छन् । जबरा सिमपानी जौवारीमा भेडा च्याङ्ग्राको व्यवस्थापन गरिएको र विगतको भन्दा व्यवस्थित गरेको दाबी गर्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘अहिलेसम्म १० हजार भन्दा माथि भेडा च्याङ्ग्रा आएको छ । हामीले ४० वटा जति खोर बनाएका छौँ । निजी जग्गामा पनि खोर बनाइएको छ । हाम्रो महान पर्व मनाउनै पर्छ । पोखरा र आसपासका जिल्लामा च्याङ्ग्रा सबैलाई मन पर्छ । स्वस्थ छन्, सबै छानेर किनेर सबै मिलेर दशैँ मनाउँ, गुणस्तरको च्याङ्ग्रा छ । सस्तो पनि छ ।’
परम्परा र आधुनिकताको संगमः स्थानीय अर्थतन्त्रमा नयाँ उभार–रैथाने उत्पादनको संरक्षण, प्रत्यक्ष बजार र समृद्धिको दिगो गोरेटो
मुस्ताङी च्याङ्ग्रा केवल दशैंको खान्की मात्र होइन, यो गण्डकी प्रदेशको हिमाली र पहाडी भेगबीचको आर्थिक तथा भावनात्मक सेतु हो । हिमाली पाटनमा यार्सागुम्बा, पदमचाल, जटामसी र पाँचऔंले जस्ता बहुमूल्य जडिबुटी चरेका काठे च्याङ्ग्राको मासु पोषिलो र प्राकृतिक रोगप्रतिरोधी मानिन्छ ।
भेडा–च्याङ्ग्रा किन्न आएका यामकान्त गौतम दशैँ शुरु भएकाले च्याङ्ग्रा किन्न आएको बताउनु भयो । आफूले पनि किनेर राखिसकेको र विजया दशमी दुःख बिर्सिएर खुशी मनाउने तयारी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, यि भेडाहरु लेकबाट झारिएको हो । यिनीहरुले बुटि खाएका छन् । कुनै विषादी छैन, स्वच्छ हावापानीमा हुर्किएको छ । केही महंगो भएपनि एक पटक दशैँ मनाउँदा राम्रोसँग नै मनाउँ भन्ने हिसावले आएका हौँ ।’
वडाअध्यक्ष सुरेन्द्र गुरुङको प्रत्यक्ष बजार उपस्थिति र मिलनजंग राणाको व्यवस्थित हाट व्यवस्थापनले एउटा स्पष्ट सन्देश दिएको छ, जब परम्परालाई आधुनिक व्यवस्थापनको साथ मिल्छ, तब स्थानीय अर्थतन्त्र आत्मनिर्भरतातर्फ अघि बढ्छ ।
याम्दीमा च्याङ्ग्रा किन्ने उपभोक्ता, हेर्न जाने बालबालिका तथा परिवारहरूको उत्साहले पोखरामा दशैँको उमङ्ग भित्र्याइसकेको छ । यस पहलले अन्य क्षेत्रका स्थानीय उत्पादनलाई पनि कसरी व्यवस्थित बजारसँग जोड्ने भन्ने ज्वलन्त मार्गचित्र कोरेको छ ।




