चिसो बढेपछि गाउँ छोड्दै मनाङवासी | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८३, मंगलबार

चिसो बढेपछि गाउँ छोड्दै मनाङवासी

manag

काठमाडौं, २९ मंसिर । सबैतिर हिमाल छ । त्यही तल मनाङवासी बस्छन् । बाह्रै महिना चिसो हुने गर्छ । अझ जाडो मौसम सुरु भए सँगै चिसो बढेको छ । हिउँ घर बस्तीमाथि झर्छ । बिहान सबेरै कोही बाहिर निस्कँदैनन् । जब घामको किरण हिमालबाट बस्तीमा छिर्छ, तब घरका धुरीबाट धुँवा निस्कन थाल्छ । स्थानीयको चहलपहल सुरु हुन्छ।

हिमाली जिल्ला मनाङको दैनिकीमा अहिले चिसोले निकै प्रभाव पारेको महसुस स्थानीयले गरेका छन् । दुई सातादेखि बढेको चिसोले जनजीवन कष्टकर बन्दै गएको छ । मनाङवासीले नचाहँदा नचाहँदै चिसोले उनीहरूको घर र जिल्ला छाड्न बाध्य बनाउँदै आएको छ । बस्तीमै हिउँ पर्न थालेपछि बर्सेनि उनीहरू जिल्लाबाहिर आफन्तकहाँ गएर बस्ने गर्छन् ।

यस वर्ष पनि केही दिनअघिदेखि हिउँ पर्न सुरु भएपछि उनीहरू जिल्लाबाहिर जाने तयारीमा रहेको मनाङवासी बताउँछन् । उपल्लो मनाङका राम्पे शेर्पाले भने, ‘चिसो बढ्दै छ, यहाँ बस्न सकिँदैन । कोही गइसक्यो, बाँकी रहेका हामी अब केही दिनमै गाउँ छाडेर विभिन्न सहरमा रहेका आफन्तकहाँ बस्ने तयारीमा छौं,’ उनले भने, मनाङवासीले बिस्तारै जिल्ला छोडेर काठमाडौं, पोखरा, चितवन लमजुङमा आफन्तको घरमा बस्ने तयारी गरेका छन् ।

उनीहरू जाडो छल्न बर्सेनि आफन्तकहाँ जाने र गर्मी सिजन सुरु भएपछि मात्रै मनाङ फर्किने गर्छन् । याे खबर अाजकाे राजधानी दैनिकमा छापिएकाे छ ।