काठमाडौं, १४ फागुन । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिए लगत्तै सिंहदरबार स्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । नवनियुक्त रक्षा मन्त्री ईश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डाक्टर युवराज खतिवडा र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रृका यादवले पदभार ग्रहण गरेका हुन् । नेपालको राजनीतिक परिवर्तनमा नवनियुक्त मन्त्रीहरुको महत्वपूर्ण भूमिक छ ।
वाम गठवन्धन सहित चुनावी समिकरण हुँदै पार्टी एकतामा समेत महत्वपुर्ण योग्दान पु¥याएका नेकपा एमालेका महासचिव ईश्वर पोखरेले प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्रीको जिम्मेवारी पाएका छन् । अर्थमन्त्रीको चर्चामा रहेका पोख्रेल अन्तिम समयमा रक्षामन्त्री बन्न पुगे ।
२०६४ र ७० सालमा भएको संविधानसभा निर्वाचनमा लगातार पराजय बेहोरेका पोखे्रलले यसपटक काठमाडौँको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी हासिल गरेका थिए । पोख्रेलले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
नवनियुक्त गृहमन्त्री रामबहादुर थापा यसअघि २०६५ सालमा रक्षामन्त्री थिए भने २०६४ को संविधानसभा चुनावमा चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । उनी अहिले राष्ट्रियसभा सदस्य हुन् । थापा माओवादी युद्धकालीन अवस्थामा प्रमुख रणनीतिकार समेत थिए ।
२०६५ सालमा थापा रक्षामन्त्री भएकै बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवालबीचको विवाद चरम उत्कर्षमा पुगेको थियो । दोस्रो संविधानसभाको चुनावमा माओवादीमा आएको फुटका कारण थापाको तत्कालीन पार्टीले चुनाव बहिष्कार गरेको थियो ।
उनले मोहन वैद्य नेतृत्वको माओवादीमा रहेर चुनाव बहिष्कार गरेका थिए । तर अघिल्लो वर्ष उनी माओवादी केन्द्रमै फर्किएका थिए । एमालेसँगको जारी पार्टी एकतामा पनि थापाको महत्वपूर्ण भूमिका छ ।
त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीको पद सम्हालेका नेकपा माओबादी केन्द्रका नेता मात्रृका यादवले २०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन) बाट राजनीतिक यात्रा शुरु गरेका हुन् । यादवले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र सम्मको शिक्षा हासिल गरेका छन् ।
यादवले दुई वर्ष अघि माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेका थिए । एकीकरण गरेपछि पार्टीको कार्यालय सदस्य सहित उनी मधेष इन्चार्ज थिए । धनुषा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका यादव मधेशमा प्रभावकारी नेताको रुपमा चिनिन्छन् ।




