ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

ब्रिक्स बैंकको सहयोगमा बनेको सडकले भारतीय राज्यका स्थानीयको जीवनस्तर सुधार्दै

भारतको दोस्रो ठूलो राज्य मध्य प्रदेशमा ब्रिक्सको नयाँ विकास बैंक (एनडीबी) को आर्थिक सहयोगमा निर्माण गरिएको सडक परियोजनाले स्थानीय बासिन्दाको जीवनयापन सहज बनाउनुका साथै रोजगारी र व्यवसायका अवसरसमेत बढाएको छ । सन् २०२३ मा सम्पन्न मध्य प्रदेश मेजर डिस्ट्रिक्ट रोड्स परियोजना अन्तर्गत राज्यभरका १ हजार ५४० किलोमिटरभन्दा बढी प्रमुख जिल्ला सडकको स्तरोन्नति गरिएको थियो । सडक निर्माण तथा स्तरोन्नतिको काम मध्य प्रदेश रोड डेभलपमेन्ट कर्पोरेसन लिमिटेड (एमपीआरडीसी) ले गरेको हो । एमपीआरडीसीका प्राविधिक सल्लाहकार इन्जिनियर आर.के. मेहराकाअनुसार परियोजना शुरु हुनुअघि विशेषगरी दुर्गम तथा ग्रामीण क्षेत्रमा अधिकांश सडकको अवस्था निकै खराब थियो । एनडीबीको सहयोगमा ती सडकलाई पुनर्निर्माण तथा स्तरोन्नति गर्दै टिकाउ र गुणस्तरीय सडक निर्माण गरिएको उनले बताए। यसबाट ग्रामीण क्षेत्र र साना सहरमा भरपर्दो यातायात तथा सञ्चार सम्पर्क स्थापित भएको उनको भनाइ छ । परियोजनाअन्तर्गत निर्माण गरिएका अधिकांश सडकले करिब ३ हजारदेखि १० हजार जनसंख्या भएका गाउँ तथा साना सहरलाई जिल्ला सदरमुकाम र अन्य प्रमुख केन्द्रसँग जोड्छन् । सडकको अवस्था सुधार भएपछि स्थानीय बासिन्दाका लागि यात्रा छिटो, सहज र सुरक्षित भएको छ । सडक सञ्जाल विस्तारसँगै जिल्ला अस्पताल, विद्यालय, कलेज, सीप विकास केन्द्र, सरकारी कार्यालय तथा सार्वजनिक सेवामा स्थानीयको पहुँचसमेत सहज भएको छ । बैंक, बजार तथा कृषि उपज बिक्री केन्द्रसम्म पुग्न सजिलो भएपछि रोजगारी र व्यवसायका अवसर बढेको परियोजना अधिकारीहरूले बताएका छन् । इन्जिनियर मेहराले एनडीबी र ब्रिक्सबीचको सहकार्यले विकासका प्राथमिकतालाई वास्तविक पूर्वाधार परियोजनामा रूपान्तरण गर्दै विकासशील देशका नागरिकको जीवनस्तर सुधार गर्नसक्ने उदाहरणका रूपमा परियोजनालाई व्याख्या गरेका छन् । सडक पूर्वाधारमा गरिएको लगानीले ग्रामीण अर्थतन्त्रलाई बजारसँग जोड्नुका साथै शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पु¥याएको बताइएको छ ।

Leave a Reply