छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या, कहाँ कति हत्या ? | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

छिनभरको सनकले ४२ महिनामा २,१६४ को हत्या, कहाँ कति हत्या ?

murder

काठमाडौं, १४ फागुन क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा सामान्य विवादमा पनि गम्भीर अपराध
१. प्युठान नगरपालिका–१ खैराकोटका २७ वर्षीय गिरबहादुर विकले २३ वर्षकी श्रीमती बागेश्वरीलाई कोदालाको पाताले टाउकोमा हाने । भुइँमा ढलेकी बागेश्वरी छटपटाउँदा पनि गिरबहादुरको रिस थामिएन, दोस्रो प्रहार गरे । घरायसी विवादमा श्रीमानको रिसले बागेश्वरीको ठाउँको ठाउँ मृत्यु भयो ।,
२. कन्चनपुरको कृष्णपुर नगरपालिका–४ का ४२ वर्षीय बिरु डगौरा र उनकी पत्नी ४० वर्षीया लाहुबीचको विवाद कुटपिटमा बदलियो । बिरुले पत्नीको टाउको समातेर घरको भित्तामा बजारे । टाउकाबाट रगत बग्दासमेत बिरुको रिस थामिएन । उनले लछार्दै फेरि भित्तामा ठोके । लाहुको घटनास्थलमै मृत्यु भयो ।

३. सुनसरीको धरान उपमहानगरपालिका–५ फोक्लिङ टापुका ५४ वर्षीय कुमार राई मानसिक रोगी थिए । उनले बाटामा हिँड्दै गरेकी ३६ वर्षीया मीरा विकलाई ढुंगाले हाने । घटना नियालिरहेका मीराका श्रीमान शंकर विक आवेगमा आए । उनले कुमारलाई समातेर कुटपिट गरे । उनीसँगै थिए २२ वर्षीय शम्भु भुजेल । कुटपिटमा भुजेल पनि मिसिए । दुई भाइको कुटाइले अचेत बनेका राईलाई उपचारका लागि धरानस्थित घोपा अस्पताल लगियो । उपचारकै क्रममा उनको मृत्यु भयो ।

यी प्रतिनिधि घटना क्षणिक आवेग नियन्त्रण गर्न नसक्दा भएका हुन् । देशमा साँढे तीन वर्षमा दुई हजार १६४ ले यस्तै आवेगका कारण अनाहकमा ज्यान गुमाएका छन् । नेपाल प्रहरीको यस तथ्यांकलाई विश्लेषण गर्दा प्रत्येक दिन दुईजनाको ज्यान यसैगरी जाने गरेको देखिन्छ । प्रहरी प्रवक्ता डिआइजी मनोज नेउपानेले क्षणिक आवेग नियन्त्रण नहुँदा हुने हत्या तुलनात्मक रूपमा बढेको बताए । उनले भने, ‘गत तीन वर्षमा दुई हजारभन्दा धेरैको हत्या भएको छ । यी घटना अधिकांश क्षणिक आवेगकै कारण भएका देखिन्छन् ।’

यस अवधिमा सबैभन्दा धेरै हत्या आर्थिक वर्ष ०७२् ७३ मा देशभर ६ सय २७ को हत्या भएको थियो । त्यसपछि ०७३ \ ७४ मा धेरै ६ सय १६ को हत्या भयो । आर्थिक वर्ष ०७१–७२ मा भने ६ सय आठजनाको हत्या भएको थियो । चालू आर्थिक वर्षको ६ महिनामा तीन सय १३ जनाको हत्या भएको छ । ‘संख्या हेर्दा हत्या धेरै नै भएको देखिन्छ । तर, तीन करोड जनसंख्या भएको देशमा यी घटना सामान्य हुन् ।’ नेउपानेले भने, ‘यी घटनामा कमजोर सुरक्षाका कारण नभई सामाजिक, आर्थिक, राजनीतिकजस्ता कारण छन् ।’

कहिले कति हत्या
०७१ \ ७२  ६०८
०७२  \ ७३  ६२७
०७३\  ७४  ६१६
पछिल्लो ६ महिना ३१३
जम्मा हत्या २,१६४

कहाँ कति हत्या
सबैभन्दा धेरै हत्या तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रमा सात सय ८८ जनाको भएको छ । तीन सय १५ हत्या काठमाडौं उपत्यकामा मात्रै भएका छन् । पश्चिमाञ्चलमा तीन सय आठ, मध्यपश्चिमाञ्चलमा दुई सय ८१, पूर्वाञ्चलमा दुई सय ५२ र सुदूर पश्चिमाञ्चलमा एक सय ९१ जनाको हत्या भएको छ ।

२९५ बालबालिकाको हत्या
प्रहरीको तथ्यांकअनुसार हत्या हुनेमा पुरुषको संख्या धेरै छ । ४२ महिनामा एक हजार एक सय १९ पुरुषको हत्या भएको छ । यो कुल हत्याको ५१ प्रतिशत हो । यही अवधिमा सात सय ५० महिलाको हत्या भएको छ । यो संख्या ३४ प्रतिशत हो । बाँकी १५ प्रतिशत भने बालबालिका रहेका छन् । यस अवधिमा एक सय ५२ बालकको र एक सय ४३ बालिकाको हत्या भएको छ ।

किन हुन्छन् हत्या
डा. टीकाराम गौतम, समाजशास्त्री
संक्रमणकालीन समाजमा क्षणिक आवेगका कारण हुने हत्या बढ्छन् । यस्ता घटना विश्वभर हुने गरेका छन् । संक्रमणकालीन समाजमा स्रोतसाधन सीमित र अस्वस्थ प्रतिस्पर्धा धेरै हुन्छ । यसको प्रत्यक्ष प्रभाव मानिसमा पर्छ । समाजले मानिसलाई जे सिकाउँछ, त्यही सिक्छ । जस्तो बनाउँछ, त्यस्तै बन्छ । खराब समाजबाट कसरी असल मानिस बन्न सक्छ वर्तमान नेपाली समाज त्यस्तै छ । त्यसो हुँदा मानिसमा क्षणिक आवेग उत्पन्न हुन्छ । यसलाई नियन्त्रण गर्ने मेकानिजम ऊसँगै छैन । फलतः यो हत्या गर्ने चरणसम्म पुग्छ । अहिले बढेका हत्या यसैका कारण हुन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);