चीन सरकारले पाकिस्तानको पशुपालन क्षेत्रको प्रवद्र्धन र सहयोगका लागि ३ लाख मात्रा उच्च गुणस्तरको पशु खोप उपहार स्वरूप उपलब्ध गराएको छ । पाकिस्तानको राजधानी इस्लामावादस्थित राष्ट्रिय कृषि अनुसन्धान केन्द्रमा बुधबार आयोजित एक विशेष समारोहका बीच उक्त खोप हस्तान्तरण गरिएको हो । सो अवसरमा पाकिस्तानका राष्ट्रिय खाद्य सुरक्षा तथा अनुसन्धान मन्त्री राणा तनवीर हुसेनले चीनको यो सहयोगले दुई देशबीचको प्रगाढ मित्रता र कृषि क्षेत्रको घनिष्ठ सहकार्यलाई पुनः पुष्टि गरेको बताउनु भयो ।
मन्त्री हुसेनले कृषि क्षेत्र पाकिस्तानको आर्थिक विकासको मेरुदण्ड रहेको उल्लेख गर्दै ‘चीन–पाकिस्तान आर्थिक कोरिडोर’ को उन्नत संस्करण २.० मा पशुपालनलाई एक अपरिहार्य अङ्गको रूपमा राखिएको जानकारी दिनुभयो ।
‘पाकिस्तानले कृषि, पशुपालन विकास, पशु चिकित्सा सेवा, अनुसन्धान, जैविक प्रविधि र रोग नियन्त्रणका क्षेत्रमा चीनको अनुभव र विशेषज्ञतालाई उच्च महत्त्व दिन्छ’ उहाँले भन्नुभयो, ‘हामी सुदृढ सहकार्यमार्फत यस अनुभवबाट थप लाभान्वित हुन इच्छुक छौँ ।’
उहाँले पाकिस्तानले चीनसँगको परम्परागत मित्रताको कदर गर्ने र दुवै देशका किसान तथा ग्रामीण क्षेत्रको हितका लागि कृषि सहकार्यलाई अझ गहिरो बनाउन प्रतिवद्ध रहेको समेत व्यक्त गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै पाकिस्तानस्थित चिनियाँ दूतावासका कार्यवाहक राजदूत सि युआनछियाङले पशुपालन क्षेत्र पाकिस्तानको ग्रामीण अर्थतन्त्रको एक मुख्य आधार र प्रतिस्पर्धात्मक क्षेत्र भएको बताउनु भयो । उहाँले दुवै देशका नेतृत्वले कृषि सहकार्यलाई उच्च प्राथमिकता दिएको चर्चा गर्दै पशुपालन विकासमा चीनले हासिल गरेका उपलब्धि र मोडलहरू पाकिस्तानका लागि उपयोगी हुन सक्ने उल्लेख गर्नुभयो ।
यो खोप सहयोगले चीन र पाकिस्तानबीचको पशुपालन तथा कृषि क्षेत्रमा व्यावहारिक सहकार्यलाई थप सुदृढ बनाउने र दुवै देशका जनतालाई निरन्तर लाभान्वित तुल्याउने विश्वास चिनियाँ पक्षले व्यक्त गरेको छ ।




