इरानमा वैवाहिक समारोहमा भएको सैन्य आक्रमणबारे अमेरिकाद्वारा अनुसन्धान शुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

इरानमा वैवाहिक समारोहमा भएको सैन्य आक्रमणबारे अमेरिकाद्वारा अनुसन्धान शुरु

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले दक्षिणी इरानमा एक वैवाहिक समारोहमा भएको सैन्य प्रहारबारे अमेरिकाले अनुसन्धान गरिरहेको बताउनुभएको छ । तेहरानले उक्त आक्रमण अमेरिकी सेनाबाट भएको दाबी गरेपछि मध्यपूर्वमा अमेरिकी सैन्य कारबाहीका क्रममा हुने गैरसैनिक हताहतीप्रति पुनः विश्वको ध्यान केन्द्रित भएको छ । बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै उपराष्ट्रपति भान्सले भन्नुभयो, ‘हामी यस घटनाको अनुसन्धान गरिरहेका छौँ किनभने हामी यसबारे सचेत छौँ । हामी यथार्थ जान्न चाहन्छौँ । यदि हाम्रा तर्फबाट कुनै गल्ती भएको छ भने हामी त्यसबाट सिक्नेछौँ । हाम्रा सैन्य गल्तीहरूबाट पाठ सिकेर सुधार गर्ने प्रयास गर्नु नै अमेरिका र इरानबीचको मुख्य भिन्नता हो । त्यसैले हामी यसको विस्तृत छानबिन गरिरहेका छौँ ।’
यसअघि बुधवार अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का प्रवक्ता टिम हकिन्सले पनि अमेरिकी सेनाले वैवाहिक समारोहमा भएको भनिएको उक्त आक्रमणको रिपोर्टबारे अध्ययन गरिरहेको जानकारी दिनुभएको थियो ।
इरानी सञ्चारमाध्यमहरूकाअनुसार मंगलवार राति दक्षिणी इरानको हर्मोजगान प्रान्तस्थित सिरिक काउन्टीमा एक माझीकी छोरीको विवाहका लागि दर्जनौँ मानिसहरू भेला भएको घरमा अमेरिकी मिसाइल प्रहार भएको थियो । उक्त घटनामा कम्तीमा ४ जनाको मृत्यु भएको र ६८ जना घाइते भएको बताइएको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले बुधबार यस आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई आफ्नो पराजय लुकाउने अमेरिकाको हतास प्रयासको संज्ञा दिनुभएको छ ।
यसअघि गत फेब्रुअरी २८ मा इरानविरुद्धको अमेरिकी–इजरायली सैन्य कारबाहीको पहिलो दिन दक्षिणी इरानकै मिनाबस्थित एउटा कन्या प्राथमिक विद्यालयमा आक्रमण भएको थियो । इरानी अधिकारीहरूकाअनुसार उक्त घटनामा अधिकांश बालबालिकासहित १६८ जनाको ज्यान गएको थियो। पछिल्ला अनुसन्धानका प्रमाणहरूले उक्त आक्रमणमा अमेरिकी ’टोमाहक’ मिसाइल प्रयोग भएको संकेत गरेका थिए ।

Leave a Reply