राजनीति

जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाद्वारा दोस्रो कार्यकालका लागि शपथ ग्रहण

जाम्बियाका राष्ट्रपति हाकाइन्डे हिचिलेमाले दोस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आगामी पाँच वर्षका लागि उहाँले पुनः मुलुकको सर्वोच्च कार्यकारी पदको जिम्मेवारी सम्हाल्नुभएको हो । राजधानी लुसाकास्थित नेशनल हिरोज स्टेडियममा आयोजित विशेष समारोहमा राष्ट्रपति हिचिलेमा र उपराष्ट्रपति मुताले नालुमान्गोले शपथ ग्रहण गर्नुभयो । उक्त समारोहमा जाम्बियाका आम नागरिक, क्षेत्रीय नेताहरूका साथै विभिन्न विदेशी सरकार र अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । शपथ ग्रहणपश्चात जनसमुदायलाई सम्बोधन गर्दै राष्ट्रपति हिचिलेमाले आफूलाई पुनः निर्वाचित गराएकोमा नागरिकहरूप्रति कृतज्ञता व्यक्त गर्नुभयो । उहाँले आफ्नो आगामी पाँच वर्षको कार्यकाल आर्थिक वृद्धिमार्फत आम नागरिकको जीवनस्तर सुधार गर्न र उनीहरूलाई लाभान्वित तुल्याउनमा केन्द्रित रहने प्रतिवद्धता जनाउनु भयो ।
सम्बोधनका क्रममा उहाँले भन्नुभयो, ‘म सम्पूर्ण जाम्बियाली जनताका लागि एक सेवक राष्ट्रपतिका रूपमा निरन्तर कार्य गरिरहनेछु ।’
६४ वर्षीय हिचिलेमा सन् २०२१ मा पहिलोपटक जाम्बियाको राष्ट्रपति निर्वाचित हुनुभएको थियो । उहाँ गत अगस्टमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमार्फत दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको हो ।

Related Post
Share

This website uses cookies.