अमेरिका–इरानबीच पुनः शुरु भएको द्वन्द्वप्रति राष्ट्रसंघको चासो, ‘अधिकतम संयम’ अपनाउन महासचिवको आग्रह | ईमाउण्टेन समाचार

Our Network

भदौ १५ २०८३, मंगलबार

अमेरिका–इरानबीच पुनः शुरु भएको द्वन्द्वप्रति राष्ट्रसंघको चासो, ‘अधिकतम संयम’ अपनाउन महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इरानबीच पुनः शुरु भएको द्वन्द्वप्रति गहिरो चासो व्यक्त गर्दै दुवै पक्षलाई ‘अधिकतम संयम’ अपनाउन आह्वान गर्नुभएको छ । गत सप्ताहान्तमा दुई देशबीच पुनः शुरु भएको शत्रुतापूर्ण सैन्य गतिविधि र आक्रमणका घटनाहरूपछि महासचिव गुटेरेसको यस्तो प्रतिक्रिया आएको हो । महासचिवका प्रवक्ता स्टेफन दुजारिकले सोमबार आयोजित पत्रकार सम्मेलनमा यस विषयमा जानकारी गराउनुभएको हो । प्रवक्ता दुजारिककाअनुसार महासचिव गुटेरेसले करिब एक महिनाको सापेक्षिक शान्तिपछि फेरि शुरु भएको गोलाबारी र आक्रमणका घटनाहरूलाई ‘अत्यन्तै खेदजनक’ भन्नुभएको छ ।
प्रवक्ताले अगाडि भन्नुभयो, ‘महासचिवले सबै पक्षलाई अधिकतम संयम अपनाउन आग्रह गर्नुभएको छ । उहाँले सैन्य तनाव कम गरी कुटनीतिक संवाद र वार्ताको प्रक्रियामा फर्कन प्रोत्साहित गर्नुभएको छ ।’
संयुक्त राष्ट्रसंघले यस क्षेत्रमा दीर्घकालीन स्थिरता र विश्वासको वातावरण पुनस्र्थापना गर्न कूटनीतिक समाधान नै उत्तम विकल्प हुनेमा जोड दिएको छ । महासचिवले द्वन्द्व समाधानका लागि राजनीतिक वार्ताका माध्यमबाट सहमतिमा पुग्न संवद्ध पक्षहरूलाई अपिल समेत गर्नुभएको छ ।

Leave a Reply

ताजा समाचार