कविना बलामी,काठमाडौँ । मुलुकको खाद्य सुरक्षाको मुख्य आधार मानिएको धान उत्पादन पछिल्ला वर्षमा चुनौतीपूर्ण बन्दै गएको छ । खेतीयोग्य जमिन घट्दै जाने, किसानको संख्या घट्ने र खाद्यान्न आयातमा निर्भरता बढ्दै जाने हो भने नेपालले खाद्य सुरक्षाको लक्ष्य कसरी हासिल गर्ला? त्यसैले अबको प्राथमिकता धान उत्पादन बढाउने मात्र नभई खाद्यान्नमा आत्मनिर्भर बन्ने दीर्घकालीन रणनीति कार्यान्वयन गर्नु हुनुपर्छ ।
नेपालमा धान उत्पादनको मुख्य समय जेठ–असारदेखि साउनसम्म हो । अहिले २०८३ सालको भदौ सुरु भइसकेकाले यस वर्षको मुख्य धान रोपाइँको समय लगभग सकिइसकेको छ । कृषि विभागको तथ्यांक अनुसार यसपाली करिब साढे ९७ प्रतिशत रोपाइ भएको छ । अबको चुनौती रोपाइँ कति भयो भन्ने मात्र होइन, रोपिएको धानको अपेक्षित उत्पादन कति हुन्छ भन्ने हो । गत आर्थिक वर्ष २०८२÷८३ मा नेपालको धान उत्पादन ४ दशमलव २० प्रतिशतले घटेर ५७ लाख ५ हजार १ सय २६ टनमा सीमित भयो। धान खेती हुने क्षेत्रफलसमेत घट्दै गएको छ । धान उत्पादनमा आएको यो गिरावटले खाद्यान्नमा आत्मनिर्भर बन्ने नेपालको लक्ष्यमा थप चुनौती थपिएको छ । धान रोपाइँको समयमा कहिले किसानले मल अभावदेखि लामो समयको खडेरीसम्म सामना गर्नुपर्ने , तराई क्षेत्रमा मनसुन ढिलो सक्रिय हुँदा समयमै धान रोपाइँ गर्न नपाउँने, रोपाइँ भइसकेपछि बेमौसमी वर्षा कारण तथा अन्य कारणहरुले गर्दा नेपालको धान उत्पादनमा यस्सै नै चुनौतिहरु थपिएको त पहिल्यै देखि छ । गत वर्ष पनि बाढी र वर्षाका कारण धानबालीमा ३ अर्ब ५३ करोडभन्दा बढीको आर्थिक क्षति भएको थियो। तर धान उत्पादन घट्नुमा मौसमजन्य समस्या मात्र जिम्मेवार छैन। धान खेती हुने क्षेत्रफल नै निरन्तर खुम्चिँदै जानु अर्को ठूलो कारण हो।
पहाडी क्षेत्रमा खेतीयोग्य जमिन बाँझिँदै जानु र बसाइँसराइ बढ्नु तथा तराईका उर्वर कृषि जमिन प्लटिङ गरी घडेरीकरण गर्ने क्रम बढ्नुले धान खेतीको क्षेत्र घटाइरहेको छ। यसले तत्कालीन उत्पादनमा मात्र नभई दीर्घकालीन खाद्य सुरक्षामै असर पार्ने जोखिम बढाएको छ। समयमै मल, बीउ, सिँचाइ र पर्याप्त वर्षा उपलब्ध नहुँदा किसानले हरेक वर्ष उत्पादन जोखिम बेहोर्नुपरिरहेको छ। हरेक वर्ष खाद्यान्नको माग धान्न आयातमा निर्भर हुनुपर्ने अवस्थाले नेपाल कहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भन्ने प्रश्न भने गम्भीर बनेको छ ।
उत्पादनको परिणाम जे आए पनि खेतीयोग्य जमिन संरक्षण, किसानलाई समयमै मल–बीउ र सिँचाइको व्यवस्था तथा कृषि उत्पादनमा लगानी बढाउन ढिला गर्ने अवस्था छैन। खाद्यान्नको माग पूरा गर्न हरेक वर्ष आयातमै निर्भर भइरहने हो भने आत्मनिर्भर नेपालको लक्ष्य नारामै सीमित हुने जोखिम छ । नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो भने धान खेतीको क्षेत्र संरक्षण गर्नु पहिलो आवश्यकता हो । किसानलाई समयमै मल तथा गुणस्तरीय बीउ उपलब्ध गराउने, सिँचाइको विस्तार गर्ने र मौसमजन्य जोखिमबाट बाली जोगाउने प्रभावकारी नीति आवश्यक छ। उत्पादन बढाउने प्रयाससँगै किसानलाई खेतीमै टिकाइराख्ने वातावरण निर्माण गर्नुपर्ने देखिन्छ ।




