नाफा बढाउँदै वाणिज्य बैंक, तर साना व्यवसायीको कर्जा पहुँच अझै कठिन | ईमाउण्टेन समाचार

Our Network

साउन ३० २०८३, आइतबार

नाफा बढाउँदै वाणिज्य बैंक, तर साना व्यवसायीको कर्जा पहुँच अझै कठिन

कविना बलामी,काठमाडौँ । वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०८२/८३ मा झण्डै ७० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । तर बैंकहरूको नाफा निरन्तर बढिरहँदा पनि सर्वसाधारण तथा साना व्यवसायीका लागि आवश्यक कर्जा पहुँच भने सहज हुन सकेको छैन । ठूलो रकमका लगानी र ठूला परियोजनामा केन्द्रित बैंकिङ प्रणालीले न्यून पुँजीमा व्यवसाय सुरु गर्न चाहने नागरिकलाई सहज कर्जा उपलब्ध गराउन नसकेको गुनासो बढ्दै गएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका २० वाणिज्य बैंकको कुल खुद नाफा ३२ दशमलव ३२ प्रतिशतले बढेर ६९ अर्ब ८८ करोड ६१ लाख रुपैयाँ पुगेको छ । तर बैंकहरूको नाफा बढ्दै जाँदा पनि सर्वसाधारण तथा साना व्यवसायीका लागि कर्जा पहुँच सहज हुन नसकेको गुनासो कायमै छ । बैंकहरूले ठूलो रकमका लगानी तथा ठूला परियोजनालाई प्राथमिकता दिइरहँदा सामान्य व्यवसाय सुरु गर्न आवश्यक पर्ने सानो कर्जाका लागि समेत सर्वसाधारणले विभिन्न झन्झट व्यहोर्नुपर्ने अवस्था सिर्जना भईरहेको छ । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको कुल खुद नाफा ७० अर्ब रुपैयाँ नजिक पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको ५२ अर्ब ८१ करोड ७५ लाख रुपैयाँको तुलनामा ३२ दशमलव ३२ प्रतिशतले बढी हो । बैंकहरूको समग्र वित्तीय अवस्थामा सुधार देखिए पनि बैंकिङ क्षेत्रको नाफा र सर्वसाधारणको कर्जा पहुँचबीच भने ठूलो अन्तर देखिएको छ ।सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ९० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कुमारी बैंक ७ अर्ब ३८ करोड ७२ लाख र ग्लोबल आईएमई बैंक ६ अर्ब २२ करोड ७२ लाख रुपैयाँ नाफासहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

बैंकहरूको नाफा बढ्नुको पछाडि निक्षेप संकलन तथा लगानीको विस्तारसँगै वित्तीय व्यवस्थापनमा आएको सुधारलाई पनि कारण मानिएको छ । तर बैंकमा निक्षेप बढ्दै गए पनि त्यसको लाभ साना व्यवसायी र न्यून पुँजी भएका उद्यमीले पर्याप्त रूपमा लिन नसकेको अवस्था छ ।साना व्यवसाय सुरु गर्न एक–दुई लाख रुपैयाँ कर्जा आवश्यक पर्ने सर्वसाधारणका लागि बैंकको कर्जा प्रक्रिया अझै सहज बन्न सकेको छैन । कर्जा लिन धितो, घरजग्गा वा अन्य सुरक्षणको माग हुने भएकाले न्यून आय भएका तथा सम्पत्ति नभएका व्यक्तिहरू बैंकिङ कर्जाबाट बाहिरिने अवस्था रहेको देखिन्छ । यसले बैंकिङ क्षेत्रको नाफा र वित्तीय समावेशिताबीचको दूरीलाई समेत उजागर गरेको छ ।

सहकारी संस्थाहरूले विगतमा साना व्यवसायी तथा सर्वसाधारणलाई तुलनात्मक रूपमा सहज कर्जा उपलब्ध गराउँदै आए पनि पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्याले त्यस्तो विकल्पसमेत कमजोर बनेको छ । परिणाम स्वरुप साना उद्यम तथा स्वरोजगारका लागि आवश्यक पूँजी जुटाउन सर्वसाधारणलाई थप कठिनाइ भइरहेको छ । बैंकिङ क्षेत्रको मुख्य उद्देश्य नाफा कमाउनु मात्र नभई अर्थतन्त्रमा वित्तीय स्रोतको प्रभावकारी प्रवाह गर्नु पनि हो । त्यसैले वाणिज्य बैंकहरूको बढ्दो नाफासँगै साना व्यवसायी, किसान, उद्यमी तथा न्यून पुँजी भएका सर्वसाधारणसम्म कर्जा पहुँच कति पुगेको छ भन्ने प्रश्न पनि महत्वपूर्ण हो ।

बैंकहरूका लागि नाफा कमाउनु जति आवश्यक छ, त्यति नै आवश्यक साना व्यवसायी, किसान र न्यून पुँजी भएका नागरिकलाई सहज र पहुँचयोग्य कर्जा प्रवाह गर्नु पनि हो । त्यसैले आगामी दिनमा बैंकिङ क्षेत्रको सफलता नाफाको आकारले मात्र होइन, वित्तीय स्रोत वास्तविक आवश्यकतामा रहेका नागरिक र साना उद्यमीसम्म कति प्रभावकारी रूपमा पुगे भन्ने आधारमा पनि मूल्याङ्कन गर्नु जरुरी छ । । बैंकिङ क्षेत्र बलियो हुँदै जानु सकारात्मक भए पनि त्यसको प्रत्यक्ष लाभ व्यापक नागरिकसम्म पुग्न सके मात्रै बैंकको नाफालाई समग्र अर्थतन्त्रको उपलब्धिका रूपमा लिन सकिनेछ ।

 

 

Leave a Reply