ब्याजदर घटेको घट्यै भएपनि कर्जा माग र प्रवाहमा सुस्तता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

ब्याजदर घटेको घट्यै भएपनि कर्जा माग र प्रवाहमा सुस्तता

२०८० चैत १  बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ ।

रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, कर्जा प्रवाह सुस्त छ भने भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकहरूले देखाएका छन्  ।

‘बैंकहरुसँग प्रशस्तै पैसा भएपनि कर्जा माग निकै सुस्त छ । आर्थिक शिथिलताले उद्योग व्यवसाय, पूर्वाधार क्षेत्रबाट पनि नयाँ कर्जा माग भइरहेको छैन । प्रतितपत्र खुल्ने क्रममा पनि कमी आएको छ ।

ब्याजदर घटिरहेका बेला कर्जा माग स्वतः बढ्नुपर्नेमा त्यसो हुन सकेको छैन । गएको एक वर्षयताको तथ्यांक हेर्दा बैंकहरूको कर्जाको औसत ब्याजदर करिब २ प्रतिशत बिन्दुले घटिसकेको छ ।

गत माघसम्म वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११ दशमलव ०८ प्रतिशत छ । ०७९ माघमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत थियो ।

सामान्यतया कर्जाको ब्याजदर घट्दा कर्जा प्रवाह बढ्नुपर्ने हो । तर, निजी क्षेत्रमा थप लगानी गर्ने उत्साह नहुँदा कर्जा माग घटेको र यसले समग्र अर्थ व्यवस्थामा असर पारेको विज्ञहरूको ठम्याइ छ ।

पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले निरन्तर रूपमा निक्षेपको ब्याजदर घटाइरहेका छन् । निक्षेपको ब्याज घट्दा बैंकहरूको आधार दर घटेको छ भने त्यसले कर्जाको ब्याजदरमा पनि कमी ल्याएको छ । राष्ट्र बैंकका अनुसार गत माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.०१, विकास बैंकहरूको ८.२६ र वित्त कम्पनीहरूको ९.४५ प्रतिशत छ ।

०७९ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम थियो । त्यसो त चैतका लागि पनि अपवादबाहेक सबै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याज घटाएका हुन् ।

राष्ट्र बैंकका अनुसार ०८० माघमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.०६, विकास बैंकहरूको ११.१३ र वित्त कम्पनीहरूको १२.७० प्रतिशत छ । गत वर्षको माघमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.७२ प्रतिशत थियो ।

अहिले बैंकहरूको मुख्य समस्या कर्जा माग घट्नु र निष्क्रिय कर्जा (एनपीए) बढ्नु हो । यसले अर्थतन्त्रमा रहेको सुस्ततालाई उजागर गरेको छ । आर्थिक शिथिलताका कारण निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन ।

यसको असरले कर्जाको माग बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन ।

निजी क्षेत्रको आत्मविश्वास बढाउने खालका गतिविधि न त सरकारले गरेको छ न त ठूलो परिमाणमा पुँजीगत खर्च बढाएर उनीहरूलाई लगानी बढाउन प्रोत्साहन नै गरेको छ ।

गत साउनदेखि यही फागुन २६ सम्म बैंक तथा वित्तीय संस्थामा ४ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह २ खर्ब ११ अर्ब रुपैयाँ मात्र छ । यस्तै, गत माघसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ५३ अर्ब ९७ करोड (५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);