नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन प्रक्रियाप्रति आपत्ति जनाउनुभएको छ ।
शुक्रवार बारमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो आपत्ति जनाउनुभएको हो । अध्यक्ष मिश्रले संवैधानिक इजलास वरिष्ठताका आधारमा वा गोलाप्रथाबाट गठन हुनुपर्नेमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफूखुशी संवैधानिक इजलास गठन गर्ने गरेको आरोप लगाउनु भयो । उहाँले वरिष्ठता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्ने र प्रधानन्यायाधीशले आफूखुशी संवैधानिक इजलास गठन गरी निश्चित मुद्दा उक्त इजलासमा पठाउने कुरामा बार चुप लागेर नबस्ने चेतावन िसमेत दिनुभयो । उहाँले यस विषयमा प्रधानन्यायाधीश शर्माको ध्यानाकर्षण गराइसकेको समेत जानकारी दिनुभयो । उहाँले स्वतन्त्र, स्वच्छ र सरकारका कामलाई नियन्त्रण गर्ने तथा कानूनबमोजिम न्याय सम्पादन गर्न सक्ने सक्षम न्यायपालिका नै बारको चाहना रहेको बताउनु भयो । उहाँले न्यायपालिकामाथि कार्यपालिकाको हस्तक्षेप बढ्दै गएको टिप्पणी समेत गर्नुभयो ।
उहाँले न्यायपालिकामा एकपछि अर्को विवाद थपिँदै गएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो ।




