काठमाडौं, १२ फागुन । नेकपा एमालेका नेता रघुवीर महासेठले फोरम र राजपा बिना शर्त सरकारमा सहभागी हुनुपर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महासेठले एमाले–माओवादी संविधान संशोधन गर्न तयार रहेकोले फोरम र राजपालाई बिना शर्त तत्काल सरकारमा सहभागी हुन आग्रह गरेका हुन् ।
उनले भने,‘उहाँहरुले अब सरकारमा आउन ढिलाई गर्नुहुँदैन्, उहाँहरु बिना शर्त सरकारमा पहिले आउनुपर्यो, यदि उहाँहरुको समस्या समाधान भएन भने उहाँहरु पछि फर्किन पनि सक्नुहुन्छ।’
उनले आफूहरुले फोरम र राजपालाई सरकारमा सहभागी गराउने सन्दर्भमा ‘खाए खा नखाए घिच’ को व्यवहार गरेको स्पष्ट पारे । महासेठले भने,‘हामी त उहाँहरुलाई स–सम्मान सरकारमा ल्याउन चाहन्छौं, यसैको लागि अहिले हामी प्रयासरत छौं, सरकारलाई सहयोग गर्नुहोस्, आउनुहोस् मिलेर देश बनाऔं भन्ने हाम्रो आग्रह छ।’
पूर्वमन्त्री समेत रहेका नेता महासेठले आफूहरु देश र जनताको हितमा संविधान संशोधन गर्न तयार रहेको विश्वास दिलाए । उनले भने,‘यदि साँच्चिकै संघीय समाजवादी फोरम र राजपाले भनेजस्तो संविधानमा समस्या छ भने उहाँहरु त्यसको लागि पहिले सरकारमा त आउनुपर्यो, हामी पनि संशोधन गर्नुपर्छ भन्ने पक्षमा छौं।’
उनले आफूहरुले २ नम्बर प्रदेश सरकारलाई विना शर्त सहयोग र समर्थन गरेको प्रसँग उल्लेख गर्दै भने,‘हामीले २ नम्बर प्रदेशमा उहाँहरुको नेतृत्वमा रहेको वर्तमान सरकारलाई विना शर्त समर्थन गर्यौं, मधेशमा विकास होस्, शान्ति, सुरक्षा, अमनचयन कायम होस्, आर्थिक सम्पन्नता हाँसिल होस् भनेर नै एमाले–माओवादीका सांसदहरुले उहाँहरुलाई मत दिएका हुन्।’
प्रतिनिधिसभाका निर्वाचित सांसद समेत रहेका नेता महासेठले केन्द्रको सरकारमा पनि फोरम र राजपा सहभागी हुनुपर्ने बताए ।




