काठमाडौँ ।
गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आइन्दा निर्मला पन्त हत्या प्रकरणको विषय संघीय संसदमा नउठाउन समेत सांसदहरुलाई आग्रह गर्नुभयो । प्रश्नोत्तर कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले ‘कञ्चनपुरकी निर्मला पन्त हत्या जघन्य बलात्कार र प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषि पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ?
यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको हो ? सरकारले हाम्री चेली निर्मालालाई कहिलेसम्म न्याय दिलाउँछ ?’ भनि प्रश्न सोध्नुभएको थियो । जवाफमा गृहमन्त्री गुरुङले तपाईंहरु सत्तामा हुँदा किन नगर्नुभएको ? भन्दै प्रतिप्रश्न गर्नुभयो । गृहमन्त्री सुधन गुरुङले मुलुकमा शान्ति–सुरक्षा कायम राख्ने दायित्वअनुसार हत्या, हिंसा र बलात्कारजस्ता गम्भीर अपराधको अनुसन्धान निरन्तर भइरहेको बताउनु भयो । उहाँले पीडित परिवारलाई थप पीडा दिनेगरी बलात्कार जस्ता संवेदनशील विषय संसदमा नभई व्यक्तिगत रुपमा राख्न समेत आग्रह गर्नुभयो ।




