काठमाडौँ । राष्ट्रिय सभामा नेपाली काँग्रेसका सांसद युवराज शर्माले सरकारको कार्यशैलप्रति आपत्ति जनाउनुभएको छ । सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै शर्माले सरकारले जनसरोकारका मुद्दा सम्बोधन गर्नुको साटो सस्तो लोकप्रियता र भ्रमको खेती गरिरहेको आरोप लगाउनुभएको हो । उहाँले सरकारको कानूनी प्रक्रियाको उल्लंघन र बढ्दो ‘पपुलिजम’ (लोकप्रियतावाद) प्रति कडा आपत्ति जनाउनु भयो । सांसद शर्माले सरकारले लोकतान्त्रिक विधि र कानुनी प्रक्रियालाई मिचेर निर्णय गर्ने गरेको र त्यसको परिणामस्वरुप अदालतबाट पटक–पटक धक्का खाइरहेको उल्लेख गर्नुभयो । राहदानी विभागको भीड र किसानका समस्या जस्ताको त्यस्तै रहेको भन्दै उहाँले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाउनु भयो । घर–घरमा राहदानी पु¥याउने दाबी गरिए पनि व्यवहारमा नागरिकले सास्ती भोग्नु परेको र किसानले मल तथा बीउको अभाव झेलिरहनु परेको उहाँको भनाइ छ । शर्माले जेन–जी भनिने नयाँ पुस्ता पपुलिजमको भ्रममा परिरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रमजालले युवाहरूलाई उत्तेजित बनाएको र यसले मुलुकलाई कुन अवस्थामा पु¥याउने हो भन्ने यकिन नभएको उहाँले जिकिर गर्नुभयो । नेपाल सम्पती शुद्धीकरणको ग्रे लिस्टमा पर्ने जोखिममा रहेको बेला संगठित अपराधका आरोपीलाई उन्मुक्ति दिने प्रयास हुनु दुर्भाग्यपूर्ण भएको उहाँको तर्क छ ।
देशमा बढ्दै गएको साम्प्रदायिक तनावप्रति सरकारलाई सचेत गराउनु भयो । नेताहरूमा देखिएको वैचारिक विचलन र राजनीतिक पाखण्डप्रति टिप्पणी गर्दै उहाँले कम्युनिष्ट नेताहरूले पशुपतिमा गर्ने विशेष पूजा र काँग्रेसका केही नेताहरूको तर्कविहीन आस्थाको प्रदर्शनलाई ‘विचारच्युत नाङ्गोपन’ को संज्ञा दिनुभयो । सांसद शर्माले भ्रष्टाचार र तस्करीका घटनामा पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपाल सुन, कोकेन र गाँजा तस्करीको ट्रान्जिट पोइन्ट बन्दै गएको तथा पर्यावरण विनाश भइरहेको भन्दै उहाँले यस्ता कुटनीतिक र आर्थिक संकटबाट पार पाउन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । कसैले उपहारका नाममा महँगो गाडी चढ्ने गरेको विषयलाई संकेत गर्दै उहाँले यसलाई ‘उत्कोच’ वा ‘उपहार’ के मान्ने भनी प्रश्न समेत गर्नुभयो ।उहाँले पुराना दलहरू प्रतिपक्षविहीन भएर सत्ताको म्युजिकल चेयरमा मात्र केन्द्रित हुँदा अहिलेको राजनीतिक अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले सरकारलाई विद्यालय, कर्मचारी र विद्यार्थी सङ्गठनमाथि प्रतिवन्ध लगाउन खोज्नुभन्दा समस्याको चुरो पहिल्याउन सुझाव दिनुभयो ।




