सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग | ईमाउण्टेन समाचार

Our Network

साउन १३ २०८३, बिहीबार

सुनसरी घटनाबारे प्रधानमन्त्रीले संसदमा जवाफ दिनुपर्ने सांसद शर्माको माग

काठमाडौँ ।

सुनसरीको कप्तानगञ्जमा भएको हत्या प्रकरणलाई लिएर प्रतिनिधि सभामा सरकारको  आलोचना भएको छ । बिहीवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाल कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीले संसदलाई आधिकारिक जानकारी गराउनुपर्ने माग गर्नुभएको हो सांसद शर्माले कप्तानगञ्जमा भएको ओमप्रकाश मेहताको हत्याले मुलुकलाई तरंगित र स्तब्ध बनाएको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा प्रधानमन्त्री स्वयं उपस्थित भएर घटनाको वस्तुस्थिति र समग्र अवस्थाबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताउनु भयो । प्रधानमन्त्रीको उपस्थिति र सक्रियताबारे प्रश्न उठाउनु भयो ।

सम्बोधनका क्रममा सांसद शर्माले गृहमन्त्रीको कार्यशैली र अभिव्यक्तिको पनि चर्को आलोचना गर्नुभयो । गृहमन्त्रीले सार्वजनिक रूपमा ‘कसैलाई यो मन्त्रालय चाहिएको छ भने लैजाऊ’ भनी धम्कीपूर्ण र अराजक अभिव्यक्ति दिएको भन्दै उहाँले आपत्ति जनाउनु भयो । राज्य अभिभावकको भूमिकामा रहनुपर्नेमा जोड दिँदै शर्माले सुनसरी घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने माग गर्नुभयो । विगतका घटनाहरूमा राज्य र गृह नेतृत्व संवेदनशील हुनुपर्छ भन्नेहरू नै अहिले जिम्मेवारीबाट पन्छिन खोजेको उहाँको आरोप छ । सांसद शर्माले प्रधानमन्त्रीलाई तत्काल संसदको रोष्टममा उपस्थित भएर यस्ता संवेदनशील घटनाबारे आधिकारिक धारणा सार्वजनिक गर्न र सदनलाई जानकारी गराउन विशेष अनुरोध गर्नुभएको छ ।

Leave a Reply