काठमाडौँ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकको ‘शुन्य समय’ मा सांसदहरूले मुलुकको पछिल्लो सुरक्षा अवस्था, धार्मिक सद्भाव, दैवीप्रकोप र सरकारको कार्यशैलीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बैठकमा बोल्दै सांसद अप्सना बानुले सुनसरी लगायतका क्षेत्रमा पछिल्लो समय भएका हिन्दु र मुस्लिम समुदायबीचको झडपप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले समाजमा शान्ति कायम गर्न गोली प्रहार गर्ने कार्य समाधान नभएको उल्लेख गर्दै प्रशासनलाई सामाजिक चेतना र संयमता अपनाउन आग्रह गर्नुभयो । सांसद अम्बिकादेवी संग्रौलाले प्रधानमन्त्रीले जेठ १७ गते दिएको अभिव्यक्ति सच्याउन माग गर्नुभयो ।साथै, सुनसरीको देवानगन्ज र कप्तानगञ्जमा भएको धार्मिक द्वन्द्वलाई संवाद र सहकार्यका माध्यमबाट समाधान गर्न उहाँले जोड दिनुभयो ।
सांसद आशिका तामाङले प्रहरी महानिरीक्षकले शरणार्थीका विषयमा दिनुभएको अभिव्यक्ति र सुनसरी घटनाको सम्बन्धबारे प्रश्न उठाउनु भयो । उहाँले नेपालको सीमा क्षेत्रलाई सुरक्षित बनाउन पर्खाल वा काँडेतार लगाएर सुरक्षा निकाय परिचालन गर्न माग गर्नुभयो ।
सांसद इन्दिरा राना मगरले सुनसरी घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले सीमा क्षेत्रमा शिक्षा र स्वास्थ्यको अभाव रहेकोतर्फ पनि ध्यानाकर्षण गराउनु भयो ।संसदीय प्रक्रिया र सरकारको उपस्थितिबारे बोल्दै सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री संसद्मा कम उपस्थित भएको र संसदको उपेक्षा गरिएको आरोप लगाउनु भयो । उहाँले मुलुकमा बढ्दो आत्महत्या, महँगी र आर्थिक मन्दी जस्ता गम्भीर विषयमा सरकार संवेदनशील नदेखिएको टिप्पणी गर्नुभयो । प्राकृतिक प्रकोपका विषयमा बोल्दै सांसद डा.अर्जुनकुमार कार्कीले हालैको वर्षा र पहिरोका कारण संखुवासभाको सिलिचोङ र धर्मदेवी नगरपालिकाका विद्यालयहरूमा भएको क्षतिबारे जानकारी गराउनु भयो । उहाँले क्षतिग्रस्त विद्यालयहरूको तत्काल पुनर्निर्माण, स्थानान्तरण र विद्यार्थीका लागि शैक्षिक सामग्रीको व्यवस्था गर्न माग गर्नुभयो ।
सांसद एलिजा गुरुङले गोरखाका दुर्गम क्षेत्रहरू धार्चे र चुमनुब्री गाउँपालिकाको विकासका लागि ती क्षेत्रलाई राजनीतिक अग्राधिकारसहितको स्वायत्त क्षेत्र घोषणा गर्न सरकारसँग अनुरोध गर्नुभयो । बैठकमा सांसदहरूले जनजीविकासँग जोडिएका विविध मुद्दाहरूमा सरकारको सक्रियता र जवाफदेहिताको माग गरेका छन् ।




