राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राष्ट्रिय सभाको शून्य समयमा कसले के भने ?

काठमाडौं, २३ पुष । राष्ट्रिय सभाका सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले प्रतिनिधि सभा विघटन, कालिकोट जिल्लामा बाढी प्रभावितको व्यवस्थापन र उखु किसानको भुक्तानी लगायतका विषयहरुमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद उदया शर्मा पौडेलले २०१७ साल पुस १ गतेको शाही कदमको पुनरावृति हुने गरी ६० वर्ष पछि पुस ५ गते संविधानको कुनै धारामा पनि उल्लेख नभएको काम वर्तमान सरकारले गरेको बताउनुभयो । आफ्नै पार्टी भित्रको अन्तरविरोधका कारण प्रतिनिधि सभा विघटन गरिनु चित्तबुझ्दो कदम नभएको बताउनुभयो । पाँच वर्षका लागि नेपाली जनताले नेकपालाई विश्वास र भरोसा गरी दिएको मतको अपमान भएको बताउनुभयो । यस्तै असंवैधानिक कदम फिर्ता लिन समेत आग्रह गर्नुभयो । 

नपाल कम्युनिष्ट पार्टी (नेकपा)कै अर्का सांसद जीवन बुढाले गत भदौ महिनामा कालिकोट जिल्ला नरहरिनाथ गाउँपालिका, राजकोट नगरपालिका, तिलागुफा नगरपालिका, महाबै गाउँपालिका र सानित्रिवेणी गाउँपालिकामा भिषण बाढी र पहिरो गई ११ सय भन्दा बढी नागरिकहरु घरबार बिहीन भएको र उनीहरुको पुर्नस्थापनकालागि अहिलेसम्म केही काम नभएको बताउनुभयो । अहिले कालिकोट जिल्लामा हिंउ परिरहेको र नागरिकहरु खुला आकाशमा बस्न बाध्य भएकोले सरकारको ध्यानाकर्षण गराउनुभयो । 

नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले किसानहरुले मेहनत गरेको उखुको पैसा माग्न प्रत्येक वर्ष आन्दोलन गर्नुपर्ने अवस्था रहेको तर सरकार मौन रहेको बताउनुभयो । उहाँले सरकारले आश्वासन दिने तर किसान सँधै मर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो । त्यसको जवाफ सरकारले दिनुपर्ने बताउनुभयो । यस्तै किसानलाई मल बिउबिजन समयमा उपलब्ध नगराउने तर किसानले दोब्बर खाद्यान्न उत्पादन गर्नुपर्छ भन्ने सरकारको प्रवृति रहेको बताउनुभयो । त्यसैले सरकार जवाफदेही भएर किसानको हितमा काम गर्न माग गर्नुभयो । 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद कोमल ओलीले अमेरिकी संसदमा भएको हिंसात्मक गतिविधिले विश्वको प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको बताउनुभयो । यो घटनाबाट संसदीय व्यवस्थालाई सर्वोपरि ठान्ने सबै देशलाई थप चुनौति र चिन्ताको वातावरण बनाईदिएको बताउनुभयो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);