विस्थापित विद्यार्थीको पठनपाठन र व्यवस्थापनमा सरकार गम्भीर छः शिक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

साउन १४ २०८३, शुक्रबार

विस्थापित विद्यार्थीको पठनपाठन र व्यवस्थापनमा सरकार गम्भीर छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुकुम्बासी व्यवस्थापनका क्रममा प्रभावित भएका विद्यार्थीको पठनपाठनलाई निरन्तरता दिन सरकारले प्रभावकारी कदम चालेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले विस्थापित विद्यार्थीको शैक्षिक व्यवस्थापन र भौतिक आवश्यकता परिपूर्तिका लागि भएका प्रयासबारे स्पष्ट पार्नुभएको हो । मन्त्री पोखरेलकाअनुसार सुकुम्बासी व्यवस्थापनका क्रममा विद्यालय भत्काइएपछि प्रभावित विद्यार्थीलाई तत्कालै अन्य विद्यालयमा स्थानान्तरण गरिएको छ । बालाजु माछापोखरीस्थित बुद्धज्योति बाल उद्यान आधारभूत विद्यालयका ११६ जना विद्यार्थीलाई तरुण माध्यमिक विद्यालयमा र बालकल्याण माध्यमिक विद्यालयका १५४ जना विद्यार्थीलाई पकनाजोलस्थित नेपाली युवक माध्यमिक विद्यालयमा स्थानान्तरण गरी पठनपाठनको व्यवस्था मिलाइएको उहाँले बताउनु भयो । यसैगरी, कीर्तिपुरस्थित राधा स्वामी सत्संग केन्द्रमा रहेका १० जना बालबालिकालाई प्याप्सन काठमाडौं महानगरको समन्वयमा आवासीय सुविधासहित पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने व्यवस्था गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो ।

होल्डिङ सेन्टरमा रहेका विद्यार्थीहरूको समस्या सम्बोधन गर्दै मन्त्रीले भक्तपुरको खरीपाटीमा २४ जना, बोडेमा १७ जना र इचुङ्गु सेन्टरमा १८ जना गरी जम्मा ५९ जना प्रभावित बालबालिकाको अनुगमन गरी तत्काल समस्या समाधान गरिएको उल्लेख गर्नुभयो । विद्यालय टाढा भएको गुनासो आएपछि मन्त्रालयले भोलिपल्टैदेखि दुवै होल्डिङ सेन्टरमा बसको व्यवस्था मिलाएको र विद्यार्थीहरूलाई विद्यालय पु¥याउने र ल्याउने प्रबन्ध गरिएको उहाँको भनाइ छ । बाढी र वर्षाका कारण शैक्षिक सामग्री नष्ट भएका विद्यार्थीहरूलाई मन्त्रालयले तत्कालै सहयोग उपलब्ध गराएको छ । झोला, कापी, किताव, स्टेसनरी सामग्री, विद्यालय पोसाक र खानेपानीका बोतललगायतका सामग्रीहरू भोलिपल्टै वितरण गरिएको उहाँले सदनलाई जानकारी दिनुभयो । विद्यार्थीको अतिरिक्त क्रियाकलाप र खेलकुदप्रतिको रुचिलाई ध्यानमा राख्दै क्रिकेट ब्याट, फुटबल, भलिबल र ब्याडमिन्टनलगायतका खेलकुद सामग्रीसमेत प्रदान गरिएको उहाँले बताउनु भयो । विद्यार्थीको पठनपाठनमा कुनै अवरोध हुन नदिन सरकार प्रतिवद्ध रहेको र आवश्यक परे थप सहयोग उपलब्ध गराउने मन्त्री पोखरेलले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

ताजा समाचार