काठमाडौँ । देशभरको मौसममा सुधार नभई आज पनि वर्षा र हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार हाल देशभर साधारणतया बदलीको अवस्था रहेको छ । आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । यस्तै, तराईका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । कोशी, वागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । यसैगरी, रात्रिकालीन समयमा पनि देशभरको मौसममा साधारणतया बदली नै रहने पूर्वानुमान गरिएको छ । देशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस, कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानका साथै सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विशेषगरी रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराई भू–भाग र वागमती तथा गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । वर्षा र हिमपातका कारण हुन सक्ने जोखिमबाट बच्न आवश्यक शतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।




