काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभामा संसदीय दलका नेता झक्कुप्रसाद सुवेदीले जनविरोधी कानून स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको शुक्रवार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विज्ञ छनोटको मापदण्डमा गम्भीर बन्न सुझाव दिनुभयो । समितिले सञ्चालन गर्न लागेको कानून मापन तथा अन्तर–विधायिकी सम्बन्ध सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमका लागि विज्ञहरूको नाम प्रश्ताव गर्दै नेता सुवेदीले विषयगत ज्ञान भएका व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अन्तर–विधायिकी सम्बन्धका लागि पूर्वसांसद परशुराम मेघी गुरुङ, खिमलाल देवकोटा र डा. भरतराज गौतमको नाम उपयुक्त रहेको उल्लेख गर्नुभयो । नेता सुवेदीले संसदीय अभ्यासमा गरिने ‘मौन विरोध’ लाई सत्याग्रहकै एक स्वरूपका रूपमा परिभाषित गर्नुभयो । सरकारले ल्याएका विधेयकहरू पारित गर्दैमा सत्तापक्ष भइन्न भन्ने तर्कप्रति टिप्पणी गर्दै नेता सुवेदीले जनविरोधी कानूनहरू कुनैपनि हालतमा स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले सरकारले ल्याएका विधेयकहरूमाथि पर्याप्त र गम्भीर छलफल हुनुपर्ने र ती जनपक्षीय नभए फिर्ता गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संसदीय प्रक्रियालाई थप गरिमामय र जनमुखी बनाउन विज्ञहरूको छनोट र विधेयकमाथिको छलफलमा गम्भीरता अपनाउनुपर्नेमा विशेष जोड दिनुभयो ।





