काठमाडाैं । नेपाल नागरिकता दोस्रो संशोधन विधेयकमा २५ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् । प्रतिनिधि सभाबाट पारित भइसकेको विधेयक राष्ट्रिय सभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएकोमा दश वटा समूहमा २५ जना सांसदहरुले संशोधन प्रस्ताव राखेका हुन् ।
यसैबीच, गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिक (एनआरएन)लाई नागरिकता दिने व्यवस्था गर्न विधेयक मस्यौदा लेखन कार्य भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको विधेयक व्यवस्थापन समितिको बैठकमा नागरिकतासम्बन्धी विधेयकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उहाँले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक गैरआवासीय नेपालीलाई नागरिकता दिने व्यवस्थासँग सम्बन्धित नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले नागरिकता लिने प्रक्रियामा सहयोग नगरेको खण्डमा आमाको नाम नराखेर पनि लिन सकिने प्रस्ताव स्वीकार गर्नुभयो ।
उहाँले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनलाई संशोधन गर्न लागिएको बताउनुभएको छ । उहाँले विदेशमा सन्तान जन्मिने वा गर्भावस्थामा आमा स्वदेश फर्किने तर बुबाको पत्ता नलागेको अवस्थामा आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणाको आधारमा अंगिकृत नागरिकता दिने व्यवस्था गरिएको बताउनुभयो ।
नेकपा माओवादी केन्द्र)का सांसद झक्कुप्रसाद सुवेदीले ब्रिटिस गोरखाका सन्तानको नागरिकता अधिकारबारे गम्भीर हुन सरकारको ध्यानाकर्षण गर्नुभयो । उहाँले विदेशमा बसेका गोरखाका छोराछोरीले उतैको परिचयपत्र लिएपछि नेपालमा नागरिकता नपाउँदा सम्पती उपभोग गर्न पाउने अधिकार गुम्ने सम्भावना रहेको उल्लेख गर्दै यसतर्फ सरकार सचेत रहन आवश्यक रहेको बताउनुभयो ।
एमाले सांसद इन्दिरादेवी गौतमले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउने विषयमा छिटो निष्कर्षमा पुग्न सरकार र समितिलाई आग्रह गर्नुभएको छ ।
उहाँले लामो समयदेखि गैरआवासीय नागरिकताको विषयमा अस्पष्टता रहँदा प्रवासी नेपाली नागरिकमा निराशा र आक्रोश रहेको बताउनुभयो ।





