काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले मुलुकको राजनीतिमा देखिएका विकृति विसंगतिबाट वामपन्थी दलहरू समेत अछुतो रहन नसकेको बताउनुभएको छ । शुक्रवार पुष्पलाल स्मृति दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थी दलहरुको भुमिका’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । वामपन्थी शक्तिहरूले आफ्नै विगतको भुमिका, नीति र व्यवहारको गम्भीर आत्मसमीक्षा नगरिकन कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन नसकिने उहाँको भनाइ छ ।
उहाँले मुलुकको राजनीति बिग्रनुमा अरुलाई दोषारोपण गरेर मात्र नपुग्ने भन्दै उहाँले आफूहरुले अपनाएका नीति, गतिविधि, व्यवहार, र जनसम्पर्कका कमजोरीहरूको समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । सहसंयोजक नेपालले शासनसत्तामा पुगेपछि विदेशी शक्तिसामु झुक्नैपर्ने वामपन्थी दलहरुको नीति अनउपयुक्त रहेको टिप्पणी गर्नुभयो । सहसंयोजक नेपालले विदेशीलाई खुसी पार्नकै लागि राष्ट्रहित विपरितका विषय समेत स्वीकार गरिएको उहाँको तर्क छ । उहाँले अतिवाद र आत्मसमर्पणवादी दुवै प्रवृत्तिबाट त्यागेर देश र जनतालाई केन्द्रमा राखेर कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पु¥याउनुपर्ने बताउनु भयो ।




