पुष्पलालको ४८ औँ स्मृति दिवसः नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

साउन ६ २०८३, बिहीबार

पुष्पलालको ४८ औँ स्मृति दिवसः नेपालका कम्युनिस्ट पार्टीहरूले विभिन्न कार्यक्रम गरी मनाउँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस आज मुलुकभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी लगायतका विभिन्न कम्युनिस्ट घटकहरूले पुष्पलालको योगदानको स्मरण गर्दै यो दिवस मनाउन लागेका हुन् । विसं १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल र आमा तुलसीकुमारीको माइला छोराका रूपमा जन्मिएका पुष्पलाल शहीद गङ्गालाल श्रेष्ठका भाइ हुन् । उनले कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए । साथै, विभिन्न कृति र लेखहरूका माध्यमबाट उनले नेपाली समाजको वर्ग विश्लेषण गर्दै वैचारिक दिशा प्रदान गरेका थिए । पुष्पलालले विसं २००६ वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । नेकपा स्थापना गर्नुअघि विसं १९९८ मा उनले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका थिए । नेपाली राजनीतिक इतिहासमा पुष्पलालले नेपाली काँग्रेस लगायतका प्रजातान्त्रिक शक्तिहरूसँग मिलेर संयुक्त जनआन्दोलनमार्फत पञ्चायती व्यवस्था परास्त गर्नुपर्ने रणनीतिक विचार अघि सारेका थिए । नेपालको कम्युनिस्ट आन्दोलनलाई सङ्गठित र सैद्धान्तिक रूपमा सबल बनाउन उनले प्रवासमा बसेर पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेपाली वाम–प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व पुष्पलालको विसं २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो ।

Leave a Reply

ताजा समाचार