अमेरिकामा फैलिएको ‘साइक्लोस्पोरियासिस’ संक्रमणः क्यालिफोर्नियाको टेलर फार्म्सद्वारा बजारबाट लेटुस फिर्ता | ईमाउण्टेन समाचार

Our Network

साउन २ २०८३, आइतबार

अमेरिकामा फैलिएको ‘साइक्लोस्पोरियासिस’ संक्रमणः क्यालिफोर्नियाको टेलर फार्म्सद्वारा बजारबाट लेटुस फिर्ता

क्यालिफोर्नियास्थित कृषि उत्पादन वितरक कम्पनी ‘टेलर फाम्र्स’ ले मध्य मेक्सिकोबाट आयात गरिएको आइसबर्ग लेटुस बजारबाट स्वेच्छिक रूपमा फिर्ता लिने घोषणा गरेको छ । अमेरिकामा घातक ‘साइक्लोस्पोरियासिस’ नामक परजीवी संक्रमण फैलिएपछि स्वास्थ्य अधिकारीहरूले यस कम्पनीलाई संक्रमणको सम्भावित स्रोतका रूपमा पहिचान गरेका थिए । कम्पनीले एक विज्ञप्ति जारी गर्दै बिरामी परेका व्यक्ति र परिवारप्रति गहिरो चासो व्यक्त गरेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले बिहीवार उपलब्ध गराएको प्रारम्भिक जानकारीका आधारमा यो कदम चालिएको कम्पनीले जनाएको छ ।  विज्ञप्तिमा भनिएको छ, ‘एफडीएको अनुसन्धानले अमेरिकाको कूल आइसबर्ग लेटुस आपूर्तिको एक प्रतिशतभन्दा कम हिस्सा ओगट्ने एउटा स्वतन्त्र कृषि फर्मलाई संक्रमणको सम्भावित स्रोत देखाएको छ । सावधानीका लागि हामीले त्यस क्षेत्रबाट आउने सबै लेटुसको आपूर्ति अनिश्चितकालका लागि रोकेका छौँ ।’
टेलर फाम्र्सले आफ्नै ब्रान्डका सलाद र किटहरू भने यस संक्रमणसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ । क्यालिफोर्नियाको सालिनासमा रहेको टेलर फाम्र्सले अमेरिकाका प्रमुख रेस्टुरेन्ट शृङ्खलाहरूमा तरकारी आपूर्ति गर्दै आएको छ । एफडीएको अनुसन्धान अनुसार पाँचवटा राज्यका ‘ट्याको बेल’ आउटलेटहरूमा टेलर फाम्र्सले आपूर्ति गरेको लेटुस खाएका व्यक्तिहरूमा यो संक्रमण देखिएको थियो । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) काअनुसार मे १ देखि हालसम्म ३४ राज्यहरूमा १,६४५ जनामा प्रयोगशाला प्रमाणित संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १४१ जना अस्पताल भर्ना भएका छन् भने हालसम्म कसैको मृत्यु भएको छैन । सीडीसीले ५,१०० भन्दा बढी अन्य रिपोर्टहरू विश्लेषणको क्रममा रहेकाले संक्रमितको सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।
साइक्लोस्पोरियासिस दूषित खाना वा पानीको माध्यमबाट शरीरमा प्रवेश गर्ने ‘साइक्लोस्पोरा’ नामक परजीवीका कारण लाग्ने रोग हो। यसले मुख्यतया आन्द्रामा समस्या उत्पन्न गराउँछ ।

Leave a Reply

ताजा समाचार