काठमाडौं ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन दिनुभएको छ । सभामुख अर्यालले लाखौँ नेपाली जनताले मत दिएर पठाएका जिम्मेवारी नागरिक भएको हुनाले सांसदहरुले आम जनताको मूल्याकंनमा अब्बल हुनेगरी व्यवहार देखाउनुपर्ने स्पष्ट पार्नुभएको हो । संघीय संसद सचिवालयले सिंहदरबारमा सोमवारदेखि सांसदहरुका लागि आयोजना गरेको २ दिने अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले सांसदहरुबीच राम्रो कानून बनाउने कुरा, राम्रो व्यवहार प्रदर्शन गर्ने कुरामा प्रतिष्पर्धा हुन आवश्यक रहेको समेत बताउनु भयो ।
सांसदहरुको हरेक गतिविधिलाई आम जनताले मूल्यांकन गरिरहेको हुनाले उनीहरुले जनताको माझमा अब्बल हुनेगरी काम गर्नुपर्ने सभामुख अर्यालको भनाई थियो । उहाँले उक्त अभिमुखिकरण कार्यक्रमबाट सिकेर सांसदहरुले आफनो भुमिकालाई आगामी दिनमा अझ बढी प्रभावकारी बनाउने विश्वास समेत व्यक्त गर्नुभयो । सभामुख अर्यालले उक्त अभिमुखिकरण कार्यक्रममा सबै सांसदहरुको उपस्थिति नभएकोमा असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।





