पदभार ग्रहण लगतै गृहमन्त्री श्रेष्ठको यस्तो निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

पदभार ग्रहण लगतै गृहमन्त्री श्रेष्ठको यस्तो निर्देशन

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशभित्र राष्ट्रिय हीत कुण्ठित हुनेगरी कुनैपनि गतिविधि गर्न नदिन निर्देशन दिनुभएको छ ।

शुक्रवार मन्त्रालयमा पदबहालीपछि मातहतका सुरक्षा निकाय र कर्मचारीहरुलाई मन्त्री श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हीत कुण्ठित हुनेगरी कुनै काम गर्न नदिन निर्देशन दिनुभएको हो । उहाँले सीमा सुरक्षामा अब्बल साबित हुनेगरी काम गर्न सुरक्षा निकायलाई निर्देशन दिनुभयो । उहाँले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने आफ्नो पहिलो कर्तव्य ठानेर काम गर्न आग्रह गर्नुभयो । मन्त्री श्रेष्ठले राष्ट्रिय हित विपरितका गतिविधि रोक्ने र त्यसप्रकारको गतिविधि हुन नदिनेगरी काम गर्न निर्देश गर्नुभयो ।

मन्त्री श्रेष्ठले नागरिकहरुको शान्ति, सुरक्षा र अमनचयनमा मन्त्रालयको तर्फबाट कुनैपनि कमजोरी हुनुनहुने बताउनु भयो । उहाँले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयको तर्फबाट कुनैपनि नकारात्मक परिणाम आउन नदिन सचेत गराउनु भयो । आम सर्वसाधारणले स्वतन्त्रतापूर्वक जीवनयापन गर्न, हिँड्डुल गर्न, व्यवसाय गर्न र संविधानले दिएको अधिकार उपभोग गर्न पाउनुपर्ने भन्दै त्यसमा पनि कमी कमजोरी हुन नदिन उहाँले निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले देशका सच्चा नागरिकले छिटोभन्दा छिटो नागरिकता पाउने कुरालाई सुनिश्चित गर्ने बताउनु भयो । उहाँले नागरिकलाई नागरिकताको प्रमाणपत्र दिन ढिलाइ नगर्ने बताउनु भयो ।

मन्त्री श्रेष्ठले महिला हिंसा अन्त्य गर्न नयाँ ढंगले तिब्रताका साथ अघि बढ्नुपर्ने भन्दै सोही अनुरुप कार्ययोजना बनाउन निर्देशन दिनुभएको छ । त्यस्तै भ्रष्टाचारमा आफूले शुन्य सहनशिलता अपनाएको भन्दै भ्रष्टाचारको छिटा कतै पर्न नदिन मातहतका कर्मचारीहरुलाई आग्रह गर्नुभयो । अपराधको नियन्त्रण गर्ने सन्दर्भमा अपराधीलाई दण्डित गर्न कुनै पनि प्रकारको उदारता नअपनाउन र सम्झौता नगर्न चेतावनी दिनुभयो । उहाँले जेललाई यातना गृहको रुपमा नभई सुधार गृहको रुपमा लिनुपर्ने भन्दै जेल सुधारको योजना बनाउन पनि निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई हस्तक्षेप मुक्त बनाइने बताउनु भयो । सुरक्षा निकायले कुनैपनि प्रकारको दबाबमा काम गर्नु नपर्ने उहाँको भनाई छ । सुरक्षा निकायको पेशागत प्रतिष्ठा कायम गरिने उहाँले उल्लेख गर्नुभयो । त्यसैगरी राष्ट्रिय परिचयपत्रको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि उहाँको निर्देशन छ । श्रेष्ठले अध्यागमन विभाग र अध्यागमन कार्यालयलई अझै व्यवस्थित र प्रभावकारी बनाइने बताउनु भयो ।

मन्त्री श्रेष्ठले विगतका सरकारले विभिन्न पक्षसँग गरेका सम्झौताहरुको स्वामित्व सरकारले लिने भन्दै ति सम्झौताहरु कार्यान्वयनमा ध्यान दिइने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);