काठमाडौं ।
मुलुकका विभिन्न प्रदेशका पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा तथा हिमपातको सम्भावना देखिएको छ भने तराईका केही क्षेत्रमा तातो लहर चल्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो कोशी, वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा साधारणतया बदली रहनेछ । कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरू तथा वागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा र हिमपातको प्रक्षेपण गरिएको छ । कोशी प्रदेशको तराईका एक–दुई स्थानमा समेत मेघगर्जनसहित वर्षा हुन सक्नेछ । तराई क्षेत्रको मौसमका सम्बन्धमा विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तातो लहर (लू) चल्ने तथा वागमती र गण्डकी प्रदेशका तराई भू–भागमा अत्यधिक गर्मी (तातो दिन) हुने सम्भावना रहेको भन्दै सचेत गराएको छ । मधेस प्रदेशमा भने आंशिक बदली रहने र अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ । रातिको समयमा कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रहने पूर्वानुमान छ । कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा वागमती र कर्णाली प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना छ । यस्तै, कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ । अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि तराईका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।




