काठमाडौं ।
संघीय संसदअन्तर्गत आज का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को बैठक बस्दैछ । शुक्रवार बस्ने बैठकका लागि सम्भावित कार्यसूचीमा बजेटसँग सम्बन्धित विधेयकहरू र विभिन्न महत्वपूर्ण अध्यादेशहरूमाथि छलफल तथा निर्णयार्थ प्रश्तुत गरिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ माथि विचार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । त्यसैगरी, बैठकमा विभिन्न अध्यादेशहरूलाई स्वीकृत वा अस्वीकृत गर्ने विषयमा छलफल हुनेछ । सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ लाई अस्वीकार गरियोस् भनी माननीय खडकबहादुर बुढाले राख्नुभएको प्रश्ताव र सोही अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रश्ताव प्रश्तुत गर्नुहुने कार्यसूची छ ।
सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण, सहकारी र स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित अध्यादेशहरूमाथि पनि सदनमा छलफल हुनेछ । नीता घतानी, आरेन राई र कृपाराम रानाले क्रमशः यी अध्यादेशहरू अस्वीकार गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने अर्थमन्त्री डा. वाग्ले, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र स्वास्थ्यमन्त्री निशा मेहताले ती अध्यादेशहरू स्वीकृतिका लागि प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । शुक्रवार नै बस्ने राष्ट्रिय सभाको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको गृहमन्त्री सुधन गुरुङले उत्तर दिनुहुने कार्यसूची तय भएको छ । बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले थारु आयोगको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री शाहले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’ र ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ स्वीकृत गरियोस् भनी प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । राष्ट्रिय सभामा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, भूमि व्यवस्थामन्त्री प्रतिभा रावल र स्वास्थ्य मन्त्री निशा मेहताले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित अध्यादेशहरू स्वीकृतिका लागि प्रश्ताव गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरासमेत जानकारी गराइनेछ ।




