काठमाडौं ।
प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले प्रधानमन्त्री बालेन्द्र साहको विवादास्पद अभिव्यक्ति र सत्ताको दुरुपयोगलाई लिएर सरकारको आलोचना गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद मल्लले प्रधानमन्त्रीले राष्ट्रियता र भौगोलिक अखण्डताका विषयमा दिएको अभिव्यक्ति सच्याउँदै संसद्मा माफी माग्नुपर्ने माग गर्नुभयो । सांसद मल्लले विगत तीन हप्तादेखि प्रतिपक्ष निरन्तर सङ्घर्षमा रहेको उल्लेख गर्दै बहुमतको बलमा प्रतिनिधि सभाको नियमावली पारित गरिएको भन्दै आपत्ति जनाउनु भयो । संविधानको मर्मविपरीत नियमावलीका दफाहरू ल्याइएको र त्यसमा संवादको वातावरण नबनाइएको उहाँको आरोप थियो । प्रधानमन्त्रीले संसदको रोस्टमबाट व्यक्त गरेका कतिपय शब्दहरू राष्ट्रियता र भौगोलिक अखण्डताको प्रतिकूल रहेको दाबी गर्नुभयो । सांसद मल्लले सरकारको कार्यशैली र भाषाप्रति पनि कडा प्रश्न उठाउनु भयो ।
सरकारले नागरिक, विपक्षी र भुइँमान्छेहरूसँग प्रयोग गर्ने भाषा प्रतिशोधपूर्ण र अमर्यादित बन्दै गएको उहाँको भनाइ थियो। सरकारी संयन्त्र र कर्मचारीहरूबाट सर्वसाधारणमाथि भइरहेको व्यवहारले लोकतन्त्र र संवैधानिक व्यवस्था नै जोखिममा पर्नसक्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो । सांसद मल्लले प्रधानमन्त्री कार्यालयबाट शक्ति र सत्ताको दुरुपयोग भइरहेको गम्भीर आरोप लगाउनुभयो। संवैधानिक आयोगका पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर कसैलाई थुनछेक वा कारबाही गर्न दबाब दिने गरिएको चर्चाप्रति ध्यानाकर्षण गराउनु भयो । सांसद मल्लले प्रतिपक्षको रचनात्मक भुमिकालाई कमजोरीको रूपमा नलिन सरकारलाई चेतावनी दिँदै जनमतको कदर गर्न आग्रह गर्नुभयो ।




