काठमाडौं ।
नेपाली काग्रेसका सांसद चन्द्रमोहन यादवले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र सभामुखको भुमिकालाई लिएर प्रतिनिधि सभामा कडा आपत्ति जनाउनुभएको छ ।बुधवारको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले संसदको गरिमा र राष्ट्रियताका सवालमा गम्भीर प्रश्न उठाउनुभएको हो । सांसद यादवले सभामुखको निष्पक्षतामाथि प्रश्न उठाउँदै उनले आफ्नो पूर्वपार्टीसँगको सम्बन्ध अझै त्याग्न नसकेको आरोप लगाउनु भयो । सदनको अभिभावकका रूपमा सबैलाई समान व्यवहार गर्नुपर्नेमा सभामुखको भुमिका संकुचित देखिएको उहाँको तर्क थियो ।
प्रधानमन्त्रीले नेपाल–भारत सीमाका सम्बन्धमा दिएको पछिल्लो अभिव्यक्तिप्रति लक्षित गर्दै यादवले यसले अन्तर्राष्ट्रिय स्तरमा देशको छविमा आँच पु¥याएको बताउनु भयो । उहाँले राष्ट्रियताको यस्तो गम्भीर विषयमा प्रधानमन्त्रीको भनाइलाई सत्तारुढ दलका सांसदहरूले ताली बजाएर समर्थन गरेकोमा समेत आश्चर्य र खेद प्रकट गर्नुभयो । संसद ३ करोड नेपालीको आशा, विश्वास र पूर्खाको बलिदानीपूर्ण सङ्घर्षको प्रतीक भएको स्मरण गराउँदै यादवले यसलाई कमजोर बनाउने काम कसैबाट हुन नहुनेमा जोड दिनुभयो । सदनमा प्रतिपक्षले उठाएका आवाजहरूलाई बेवास्ता गरिएको भन्दै उनले वर्तमान संसदीय अभ्यास हास्यास्पद बन्दै गएको टिप्पणी समेत गर्नुभयो ।




