काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले प्रधानमन्त्रीले प्रतिनिधि सभामा व्यक्त गरेको अभिव्यक्ति राष्ट्रको हित विपरीत रहेको दाबी गर्दै त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको छ । मङ्गलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लामाले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट दिएको पछिल्लो अभिव्यक्तिले देशको हित नगर्ने जिकिर गर्नुभयो ।
प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको सीमाना मिचेको छ भनी व्यक्त गर्नुभएको धारणाको सन्दर्भ उल्लेख गर्दै उनले उक्त अभिव्यक्ति त्रुटिपूर्ण रहेको र त्यसलाई सच्याउनुपर्ने माग राख्नुभयो । सांसद लामाले राष्ट्रिय सार्वभौमिकता र भूमिसँग जोडिएका विषयमा प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले विवादास्पद अभिव्यक्ति दिन नहुने भन्दै उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउनु भयो ।




