काठमाडौं ।
हाल देशको हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । जल तथा मौसम विज्ञान विभागको पछिल्लो पूर्वानुमानअनुसार आज दिउँसो र राति देशका विभिन्न प्रदेशमा मौसममा फेरबदल आउने देखिएको छ । आज दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहे पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । मौसम प्रणालीमा आएको बदलावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सोही क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । यस्तै, कोशी प्रदेशका तराईका थोरै स्थान र मधेश प्रदेशका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुनसक्ने देखिएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानहरूमा भने तातो दिनको सम्भावना रहेकाले सचेत रहन आग्रह गरिएको छ । आज राति देशका हिमाली र पहाडी भू–भागका साथै कोशी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य तराई क्षेत्रको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । रातिको समयमा कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । यसैगरी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने देखिएको छ । कोशी प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको विभागको बुलेटिनमा उल्लेख छ ।




