काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भूभागमा वर्षा, हिमपात र केही स्थानमा अत्यधिक गर्मी हुने सम्भावना रहेको छ। महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रहने भएपनि सुदूरपश्चिमको तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने देखिएको छ। कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। यसैगरी लुम्बिनी प्रदेशको तराई भू(भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक(दुई स्थानमा समेत वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। तराईका मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भने आज तापक्रम वृद्धि भई गर्मी बढ्ने सम्भावना छ। आज रातिको मौसमबारे जानकारी दिँदै महाशाखाले कोशी प्रदेशसहित हिमाली भूभागमा साधारणतया बदली रहने जनाएको छ। पहाडी क्षेत्रमा आंशिक बदली रहे तापनि तराईमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू र अन्य हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।




