चीनले सोमवार विश्वको तेस्रो सबैभन्दा लामो नदी, याङ्त्सेमा बढ्दो ढुवानी मागलाई सम्बोधन गर्न एक विशाल जलमार्ग परियोजनाको निर्माण कार्य शुरु गरेको छ । यस परियोजना अन्तर्गत विश्वकै सबैभन्दा ठूलो आन्तरिक जहाज लक निर्माण गरिने अपेक्षा गरिएको छ । करिव ७७.२ अर्ब युआन (लगभग ११.३ अर्ब अमेरिकी डलर) को लागतमा निर्माण हुन लागेको यस परियोजनाले विश्वकै सबैभन्दा ठूलो जल संरक्षण परियोजना थ्री गर्जेज ड्यामको उत्तरी भागमा अवस्थित हालको लकको अतिरिक्त पाँच–तह, दोहोरो ट्रयाक भएको नयाँ शिप लक थप्नेछ । यसका साथै तल्लो तटीय क्षेत्रमा रहेको सानो बाँधमा जलयातायात सुविधाहरूको स्तरोन्नति गरिनेछ । निर्माण सम्पन्न भएपछि, यो नयाँ जलमार्ग परियोजनाले थ्री गर्जेज बाँधको वार्षिक ढुवानी क्षमतालाई झन्डै दोब्बर बनाएर ३३ करोड ६० लाख टन पु¥याउनेछ । यो परियोजना चीनको १५ औं पञ्चवर्षीय योजना अवधि (२०२६–२०३०) मा शुरु भएको पहिलो ठूलो परियोजना हो । यो अवधि सन् २०३५ सम्ममा आधारभूत रूपमा समाजवादी आधुनिकीकरण हासिल गर्ने चीनको राष्ट्रिय लक्ष्यतर्फ अघि बढ्ने एउटा महत्वपूर्ण चरण हो ।




