थ्री गर्जेजलाई अन्तिम मौका | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

थ्री गर्जेजलाई अन्तिम मौका

jal bidhyut

काठमाडौं, १२ साउन । पश्चिम सेती आयोजना बनाउने भनेर काम गर्न आलटाल गरिरहेको चिनियाँ कम्पनी ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’ लाई सरकारले अन्तिम मौका दिने भएको छ । ०६८ मा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न सर्त राख्दै अझैसम्म आयोजना निर्माणको सुरसार गरेको छैन ।

थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले अन्तिमपटक वार्ता गर्ने तयारी गरेको छ । ‘वार्ताका लागि उच्च तहका अधिकारी सम्मिलित हुने टोली पठाउन पत्र लेखेका छौं,’ बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेले भने, ‘वार्ता गरी अन्योल चिर्न चाहन्छौं ।’

७५० मेगावाटको आयोजना निर्माणका लागि बोर्डले थ्री गर्जेजसँग समन्वय गरिरहेको छ । बोर्डले ५ सय मेगावाटभन्दा बढी क्षमताका आयोजना निर्माणमा सहजीकरण गर्ने गरेको छ । थ्री गर्जेज विश्वकै सबैभन्दा ठूलो जलविद्युत् आयोजना बनाएको कम्पनी हो । तर, नेपालमा भने कम्पनी उदासीन देखिएको छ । यही कारण सरकारले ०७५/७६ को बजेटमार्फत यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने घोषणा गरिसकेको छ ।

तर, चिनियाँ सरकारले भने अझै बनाउन चाहेको धारणा बजेटलगत्तै सार्वजनिक गरेको थियो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले कम्पनीले पश्चिम सेती निर्माणबाट हात झिकिनसकेको बताएका थिए । सरकारले पनि स्वदेशी लगानीमा बनाउने भने पनि आयोजना निर्माणका लागि चिनियाँ कम्पनीलाई दिइएको सम्झौता तोडेको छैन ।

साउन १ मा बसेको बोर्ड सञ्चालक समिति बैठकले आयोजनाबारे २ महिनाभित्र निष्कर्षमा पुग्न कार्यालयलाई निर्देशन दिएको थियो । ‘आयोजनाबारे अर्थ मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र विकासकर्ता कम्पनीसँगको छलफलपछि निष्कर्षमा पुग्न निर्देशन दिइएको छ,’ बोर्ड बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);