काठमाडौं ।
नेकपा एमालेले सरकारलाई गिरिबन्धु टी–स्टेटको फाइल खोल्न चुनौती दिएको छ ।सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेकी उपनेता पद्या अर्यालले विवादित भनिएका सबै फाइल खोल्न सरकारलाई चुनौती दिनुभएको हो । उहाँले बजेटको छलफलका क्रममा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपक्षीलाई लक्षित गर्दै ‘फाइल खोल्ने’ चेतावनी दिएको आरोप लगाउँदै उहाँले टी–स्टेट प्रकरणको फाइल पहिलो प्राथमिकता राखेर खोल्न चुनौती दिनुभयो । उहाँले विपक्षीसँग जोडिएका भनिएका ओम्नी, वाइडबडीलगायतका सबै प्रकरणको छानबिन गर्न पनि आग्रह गर्नुभयो । उहाँले विपक्षीमाथी लगाइएका आरोपहरू छानबिनबाट पुष्टि नभएमा आरोप लगाउनेहरूले त्यसको जिम्मेवारी लिन तयार छन् कि छैनन् ? भन्दै उहाँले प्रश्न गर्नुभयो ।
सरकारको जिम्मेवारीमा रहेका व्यक्तिले संसदमा विपक्षीलाई धम्क्याउने शैली अपनाएको भन्दै अर्यालले त्यसलाई खेदजनक भएको बताउनु भयो ।यस्तै उहाँले परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणमा दिएको अभिव्यक्तिको पनि आलोचना गर्नुभयो । परराष्ट्रमन्त्रीले ‘अतीतको बोझ बोक्न सक्दैनौं’ भन्ने अभिव्यक्ति दिएर राष्ट्रवादी अडान कमजोर बनाएको उहाँको आरोप छ । उक्त अभिव्यक्ति नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी दाबीलाई संकेत गरेको हो कि भन्ने गम्भीर प्रश्न उठेको उहाँको भनाई छ ।उहाँले सरकारका मन्त्रीहरूले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणा राष्ट्रको नीतिसँग जोडिने भएकाले राष्ट्रिय हित र परराष्ट्र नीतिलाई कमजोर बनाउने अभिव्यक्तिबाट बच्नुपर्ने बताउनु भयो ।




