सुन तस्करी छानविन गराएरै छाड्ने ओलीको दाबी | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सुन तस्करी छानविन गराएरै छाड्ने ओलीको दाबी

काठमाडौँ, ९ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणको छानविन गर्ने अधिकारसहित उच्चस्तरीय आयोग गठन गर्नुपर्ने वताउनुभएको छ । अध्यक्ष ओलीले सरकारले आयोग गठनमै विलम्ब गरेको र अहिले सुन तस्करीको छानविन आयोगले गर्न पाइँदैन भन्न थालेको वताउनुभयो ।

नेकपा (एमाले) बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गर्नुभयो ।

पछिल्लोपटकको ६१ किलो र साढे नौ किलो सुनमात्र होइन, धेरै किलो सुन तस्करी गरी देशद्रोही काम भएको वताउँदै अध्यक्ष ओलीले सुन तस्करीको कुनै पनि समय छानविन गराएर छाड्ने दृढता व्यक्त गर्नुभयो ।

सुन तस्करी प्रकरणको छानविनका लागि उच्चस्तरीय आयोग गठनको माग राखेर आवाज उठाउँदा संसद् चल्न नदिएको भनी एमालेमाथि आरोप लगाउने सरकार र सत्तापक्षले अहिले लामो समयसम्म संसद् स्थगन गरेर जनप्रतिनिधिलाई जनताका समस्या प्रस्तुत गर्नबाट बन्चित गरेको भनाइ अध्यक्ष ओलीले राख्नुभयो ।

उहाँले भन्नुभयो– सरकारले आयोग गठनमा विलम्ब, ढिलाढाला गर्नुको कारण सामान लुकाउने, मान्छे भगाउने, प्रमाण मेटाउने लगायतका व्यवस्थापनका कामका लागि हो । सम्बोधनका क्रममा बालुवाटार जग्गा प्रकरणको प्रसङ्ग उठाउँदै अध्यक्ष ओलीले सरकारलाई प्रश्न गर्नुभयो– ललिता निवासको सरकारी सम्पत्ति व्यक्तिको नाममा गराइदिने नेता र कर्मचारीमाथि खोई मुद्दा ? उहाँले गिरीबन्धु चिया बगानको जग्गाको विषय लगायत भ्रष्टाचारका कुनै पनि फाइल खोल्न सरकारलाई चुनौती दिनुभयो ।

अध्यक्ष ओलीले सरकार नालायक र निकम्मा भएका कारण मुलुकको अर्थतन्त्र डावाडोल भएको, मुलुक सामाजिक अराजकता र साँस्कृतिक विश्रृङ्खलतातर्फ गइरहेको वताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);