अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा जोड | ईमाउण्टेन समाचार

Our Network

जेठ ३० २०८३, आइतबार

अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा जोड

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई औपचारिकीकरण गर्न र युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न सरकारले कर प्रणाली तथा सार्वजनिक सेवा प्रवाहमा आमूल परिवर्तन शुरु गरेको बताउनुभएको छ ।
आईतवार काठमाडौंमा आयोजित ‘युवा उद्यमशीलता सम्मेलन–२०८३’ लाई सम्बोधन गर्दै उहाँले दशकौँदेखि चर्चामा सिमित कर सुधारका एजेण्डालाई वर्तमान सरकारले कार्यान्वयनमा लगेको दाबी गर्नुभयो । अर्थमन्त्री वाग्लेले करको बोझ र कानूनी झन्झटका कारण व्यवसाय बन्द गरेर बसेका वा लुकेर बस्न बाध्य भएका साना उद्यमीहरूका लागि सरकारले विशेष ‘आममाफी’को योजना ल्याएको जानकारी दिनुभयो । उहाँकाअनुसार विगतका वक्यौताहरूका कारण ठूलो दायित्व बोकेका करिव २ देखि ३ लाख साना कम्पनी तथा व्यक्तिहरूले अब १ प्रतिशत प्रशोधन शुल्क तिरेर आफ्नो व्यवसायलाई पुनः वैधानिक रूपमा अगाडि बढाउन सक्नेछन् ।

सार्वजनिक सेवा प्रवाहलाई झन्झटमुक्त बनाउन सरकारले मालपोत, राहदानी र लाइसेन्स जस्ता कार्यालयहरूमा आमूल सुधार गरिरहेको उहाँले बताउनु भयो । नागरिक एपमार्फत थप १०० वटा सेवाहरू उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिँदै उहाँले डिजिटल माध्यमबाट सेवा प्रवाह गरी बिचौलियाहरूको भुमिका अन्त्य गर्ने स्पष्ट पार्नुभयो । सफ्टवेयर र हार्डवेयर खरिदमा हुने आर्थिक अनियमिततालाई चिर्दै प्रविधिमैत्री प्रशासन बनाउन सरकार दृढ रहेको उहाँको भनाइ थियो ।
नेपालले परम्परागत प्रविधिलाई छाडेर सिधै आधुनिक प्रविधिमा फड्को मार्ने रणनीति लिएको अर्थमन्त्रीले उल्लेख गर्नुभयो । उहाँले नेपालमा ‘सोभरेन एआई कम्प्युट सेन्टर’ स्थापनाका लागि तयारी भइरहेको र यसका लागि विश्वविख्यात प्रविधि कम्पनीहरूसँग संवाद भइरहेको जानकारी दिनुभयो ।
‘हाम्रो स्वच्छ ऊर्जालाई तारमार्फत निर्यात गर्नुको सट्टा एआई कम्प्युट पावरका रूपमा प्रशोधन गरी निर्यात गर्दा १० देखि १०० गुणा बढी आम्दानी गर्न सकिने सम्भावना छ ।’ उहाँले भन्नुभयो ।  
गत वर्षको तथ्याङ्कले सूचना प्रविधि निर्यातबाट उल्लेख्य आम्दानी भइरहेको देखाएको भन्दै उहाँले यस क्षेत्रलाई थप व्यवस्थित र बिस्तार गरिने बताउनु भयो । सरकारले मुलुकको अर्थतन्त्रलाई १०० बिलियन डलरको आकारमा पु¥याउने र ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । यसका लागि डिजिटल अर्थतन्त्र, जनसाङ्ख्यिक लाभ र डायस्पोरालाई जोड्ने अवधारणा अघि सारिएको छ ।
अर्थमन्त्री वाग्लेले नीतिगत सुधारका लागि आफू मन्त्री भएकै दिन १५ वटा पुराना ऐनहरू खारेज गरेको र यसपटकको बजेटमार्फत थप २५ देखि ३० वटा ऐनहरू खारेज वा संशोधनको प्रक्रियामा रहेको जानकारी दिनुभयो । धितोबिनाको कर्जा र पीटुपी लेन्डिङ जस्ता अवधारणालाई पनि कार्यान्वयनमा ल्याइने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विगत १०–१५ वर्षदेखि सिमित स्वार्थ समूहको कब्जामा रहेको राज्यका संयन्त्रहरूलाई मुक्त गर्ने अभियान शुरु भएको भन्दै उहाँले ठूला भ्रष्टाचार र वित्तीय घोटालाहरूमाथि कारबाही अघि बढाइएको बताउनु भयो । युवाहरूमा रहेको ‘यो देशमा केही हुँदैन’ भन्ने नकारात्मक भाष्यलाई चिर्न सरकारले जग बसाल्ने काम गरिरहेको उहाँको तर्क थियो ।

मन्त्री वाग्लेले युवा उद्यमीहरूलाई सरकारको सहयोगी र वकालतकर्ताका रूपमा उभिन आग्रह गर्नुभयो ।

 

Leave a Reply

ताजा समाचार