काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले सांसद बोल्ने, सरकार नसुन्ने र जनता कराउने तर व्यवस्था नसुन्ने परम्परारको अन्त्य हुनुपर्ने बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सांसदहरुले शुन्य समयमा उठाएका विषयहरू कार्यान्वयनमा नलगेकोप्रति असन्तुष्टी जनाउँदै ‘शुन्य समय’ लाई ‘ब्ल्याक होल समय’ भन्नुपर्ने टिप्पणी गर्नुभयो । उहाँले ब्ल्याक होलमा प्रकाशसमेत हराएझैँ संसदमा नागरिकको आवाज, जनप्रतिनिधिको जवाफदेहिता र सरकारको जिम्मेवारी हराउन नहुने बताउनु भयो ।
उहाँले सांसदहरूले उठाएका जनताका पीडा, प्रश्न र राष्ट्रिय मुद्दा सुन्ने, टिपोट गर्ने र कार्यान्वयन प्रक्रियामा लैजाने व्यवस्था भएमा मात्रै शुन्य समयको सार्थकता रहने बताउनु भयो । शुन्य समय केवल बोल्ने औपचारिकता नभई जनताको पीडा संसदमा प्रवेश गर्ने संवैधानिक माध्यम भएकोले यसलाई अभिलेखमा मात्र सीमित नराखी तत्काल सम्बन्धित मन्त्रालयमा पठाउन र तोकिएको समयभित्र कार्यान्वयनको प्रगति विवरण सम्बन्धित सांसदलाई उपलब्ध गराउन माग गर्नुभयो । बैठकमा उहाँले शुन्य समय जनताको आवाजको पूर्ण समय बन्नुपर्ने बताउनु भयो ।




