काठमाडौँ ।
पूर्वप्रधानमन्त्री सुशीला कार्कीले अबको समय साहित्य क्षेत्रमै व्यतित गर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित ‘काठमाडौं कलिङ्ग साहित्य महोत्सव’मा सम्बोधन गर्दै कार्कीले यस्तो आग्रह गर्नुभएको हो । आफूलाई केवल पूर्वप्रधानन्यायाधीश वा पूर्वप्रधानमन्त्रीका रूपमा मात्र नभई एक साहित्य अनुरागीका रूपमा बुझिदिन आग्रह गर्नुभयो । उहाँले न्यायपालिका र कार्यपालिकामा आफूले निर्वाह गरेको भूमिका बाध्यता र कर्तव्यको उपज भएको बताउँदै साहित्य भने आफ्नो अन्तर्मनको रुचि भएको स्पष्ट पार्नुभयो । आफ्नो साहित्यिक यात्राको स्मरण गर्दै कार्कीले सन् १९९० को जनआन्दोलनका क्रममा जेल पर्दाको अनुभव सुनाउनु भयो ।
दुई महिनाको जेल जीवनमा त्यहाँका महिला बन्दीहरूको पीडा र भोगाइलाई नजिकबाट नियालेपछि आफूले ‘कारा’ नामक उपन्यास लेखेको उहाँले जानकारी दिनुभयो । उक्त उपन्यास उहाँले सेवा निवृत्त भएपछि मात्र प्रकाशनमा ल्याउनुभएको थियो । आफूसँग अझै धेरै कथा र उपन्यासका अवधारणा र आधा लेखिएका पाण्डुलिपिहरू रहेको जानकारी दिँदै उहाँले ती कृतिहरू ल्याउने आफ्नो योजना रहेको बताउनु भयो । कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कवि तथा लेखकहरूको बाक्लो उपस्थिति रहेको थियो।




