काठमाडौँ ।
उद्योगपति विनोद चौधरीले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताउनुभएको छ । नेपाल उद्योग परिसंघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उहाँले विगतमा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्ति रहेको र त्यसलाई अन्त्य गर्नु सकारात्मक रहेको बताउनु भयो । उहाँकाअनुसार अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण हुनुपर्छ । चौधरीले प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा सुधारको प्रक्रिया अघि बढेको उल्लेख गर्दै त्यसलाई थप तीव्रता दिनुपर्ने बताउनु भयो ।
उहाँले मुलुकमा सुधार र आशावादको वातावरण सिर्जना भए पनि त्यसलाई ठोस लगानी तथा परियोजनाको कार्यान्वयनमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनु भयो । ऊर्जा क्षेत्रलाई उदाहरणका रूपमा प्रश्तुत गर्दै उहाँले विद्युत खरिद–विक्री सम्झौता (पीपीए) को प्रतिक्षामा रहेका हजारौँ मेगावाट क्षमताका परियोजनाहरू लामो समयदेखि रोकिएको चौधरीले बताउनु भयो । दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि पीपीए प्रक्रिया अपेक्षित रूपमा अगाडि बढ्न नसकेको उल्लेख गर्दै उहाँले ५ हजार मेगावाटभन्दा बढी क्षमताका परियोजनाहरू प्रभावित भएको बताउनु भयो । निजी क्षेत्र लगानीका लागि पूर्ण रूपमा तयार रहेको उल्लेख गर्दै उहाँले नेपालमा लगानीयोग्य पूँजी र जनशक्तिको अभाव नरहेको बताउनु भयो । मुलुकमा आएको सकारात्मक परिवर्तनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत आशा जगाएको र ठूला अन्तर्राष्ट्रिय कम्पनीहरू नेपालमा लगानी तथा नयाँ परियोजना अघि बढाउन इच्छुक देखिएको उहाँले बताउनु भयो ।




