हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर

नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आफूहरू वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संसदीय प्रणालीको उपभोक्ता मात्रै नभई निर्माता भएको बताउनुभएको छ ।
बिहीवार पत्रकारहरुसँग कुरा गर्दै उहाँले एमालेसहितका विपक्षी दलहरू वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो व्यवस्था उपभोग गर्न मात्रै नआएको बताउनुभएको हो । उहाँले आफूहरु यस व्यवस्थाका निर्माता भएकाले यसको संरक्षण, सुदृढीकरण र जनविश्वास कायम गर्न जिम्मेवार रहेको बताउनु भयो । संसदीय व्यवस्थामार्फत नै नेपालको आमूल परिवर्तन र समाजवादको यात्रालाई अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले आफूहरू यसप्रति अत्यन्त जिम्मेवार, सचेत र संवेदनशील रहेको बताउनु भयो । उहाँले हाल संसदमा विपक्षी दलहरुले विरोधका लागि मात्रै विरोध नगरेको बताउनु भयो । महरले आफूहरूले रहरले नभई बाध्यतावश संसद अवरोध गर्नुपरेको उल्लेख गर्नुभयो । संसद जनताका आवाज बुलन्द गर्ने, कानून निर्माण गर्ने र सरकारलाई उत्तरदायी बनाउने सार्वभौम संस्था भएकाले यसको अवरोध उचित नभएपनि वर्तमान परिस्थितिले यस्तो कदम चाल्न बाध्य बनाएको उहाँको भनाइ थियो । संविधान, लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा एमालेले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै उहाँले सरकारका निर्णय र गतिविधिहरू यी आधारभूत मूल्य विपरित भएमा सशक्त विरोध गर्ने बताउनु भयो । उहाँले संसदमा संख्या भन्दा विचार, एजेण्डा र जनताका मुद्दा महत्वपूर्ण हुने उल्लेख गर्दै एक जना सांसदको आवाज पनि पर्याप्त हुन सक्ने बताउनु भयो । उहाँले विपक्षी दलका रूपमा सरकारको विरोधका लागि विरोध गर्ने नीति नअपनाउने स्पष्ट पार्दै सरकारका सकारात्मक काममा समर्थन र गलत काममा रचनात्मक आलोचना तथा खबरदारी गर्ने बताउनु भयो । महरले पछिल्लो समय सरकार र सभामुखको भुमिकाप्रति असन्तुष्टि जनाउनु भयो । सरकारमा सर्वसत्तावादी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै उहाँले बहुमतका आधारमा संविधान, कानुन, संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गर्दै अघि बढ्न खोजिएको दाबी गर्नुभयो ।

उहाँले सरकारले ‘क्रमभङ्गता’ सकारात्मक क्षेत्रमा देखाउनुपर्ने बताउनु भयो । उहाँले संविधानले प्रत्याभूत गरेका मौलिक हक, निःशुल्क शिक्षा र रोजगारीको अधिकार कार्यान्वयनमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्रीको संसदीय आचरणप्रति पनि असन्तुष्टी जनाउन ुभयो । नीति तथा कार्यक्रम प्रश्तुत गर्ने क्रममा राष्ट्रपतिले सम्बोधन गर्दा प्रधानमन्त्रीको प्रश्तुति, व्यवहार र पहिरन असभ्य, अमर्यादित, असंसदीय तथा संविधानविरोधी रहेको उहाँको आरोप छ । संसद्प्रति प्रधानमन्त्रीले उपेक्षापूर्ण व्यवहार देखाएको भन्दै उहाँले सेनासम्बन्धी कार्यक्रममा भने प्रधानमन्त्री औपचारिक र सम्मानजनक रूपमा उपस्थित हुने गरेको उल्लेख गर्नुभयो । महरले संसदलाई अपमान गर्नु भनेको सार्वभौमसत्ता, जनता, संविधान, लोकतन्त्र र जनमतको अपमान गर्नु सरह भएको बताउनु भयो ।
उहाँले सभामुख सत्तापक्षको ‘रक्षा कवच’ बनेको आरोप लगाउनु भयो । प्रतिनिधि सभा नियमावलीको बेवास्ता गरिएको भन्दै उहाँले नियमावलीमा १५ जनासम्म सांसदले प्रश्न गर्न सक्ने र प्रश्न तीन दिनअघि दर्ता गर्नुपर्ने स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसलाई अस्वीकार गरिएको दाबी गर्नुभयो । विपक्षी सांसदहरूको विरोधका बाबजुद बलपूर्वक सदन सञ्चालन गरिएको आरोप लगाउँदै उहाँले यसले संसदको गरिमा र मर्यादामा आँच पु¥याएको बताउनु भयो । संविधानको धारा ७६(१०) अनुसार सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने व्यवस्था कार्यान्वयन नभएको पनि उहाँको भनाइ थियो । प्रधानमन्त्री संसद्मा उपस्थित हुने शैलीप्रति व्यंग्य गर्दै महरले प्रधानमन्त्री हिन्दी चलचित्र ‘सिंघम’ र ‘नायक’को शैलीमा सदनमा प्रश्तुत हुने गरेको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री संसद्मा आउँदा सदनलाई पूर्वजानकारी दिने, सदनले सम्मान व्यक्त गर्ने र संसद्लाई सम्बोधन गर्ने संसदीय परम्परा पालना नभएको उहाँको आरोप छ ।

उहाँले प्रधानमन्त्रीले संसदमा नेपालले भारतको भुमी मिचेको रहेछ भनेर दिएको अभिव्यक्ति राष्ट्रघाती, देशद्रोही र जनताप्रतिको गद्दारी भएको बताउनु भयो । विश्वका कुनैपनि सार्वभौम देशका प्रधानमन्त्रीले आफ्नो देशले अर्को देशको भूमि मिचेको स्वीकार नगर्ने उहाँको दाबी छ । प्रधानमन्त्रीले उक्त अभिव्यक्ति फिर्ता लिएर राष्ट्रसँग माफी माग्नुपर्ने र सो अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइनुपर्ने उहाँको भनाई छ । उहाँले उक्त विषयको समाधान नभएसम्म संसद्का कामकारबाही अगाडि बढाउनु उपयुक्त नहुने बताउनु भयो । साथै, उहाँले संसद स्थगित रहेको अवधिमा संसदीय समितिमा समेत एमालेका सांसदहरू सहभागी नहुने जानकारी दिनुभयो ।–

Leave a Reply