काठमाडौँ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई वैचारिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभएको छ ।पार्टीका नीति र विश्लेषणहरू सही रहेको उल्लेख गर्दै उहाँले ती विचारमा दृढ भएर संगठनलाई चुस्त–दुरुस्त राख्न कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको हो । अध्यक्ष ओलीले पार्टीभित्र देखापर्ने विसंगति र अनुशासनहीनताप्रति कडा टिप्पणी गर्नुभएको छ ।
पार्टीभित्र विधिसम्मत प्रक्रियाभन्दा बाहिर गएर गरिने गतिविधिप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीले निष्कर्षमा नपुगी गरिने टिप्पणीहरूले भ्रम मात्र सिर्जना गर्ने बताउनु भयो । समीक्षाको नाममा भ्रम फैलाउने र हस्ताक्षर संकलन गर्दै हिँड्ने कार्यले पार्टीलाई सही दिशामा लैजान नसक्ने उहाँको तर्क छ । उहाँले पार्टीको मार्गचित्र र संगठनात्मक अनुशासनलाई पालना गरेर मात्रै एमाले अगाडि बढ्न सक्ने स्पष्ट पार्नुभयो । ओलीले पार्टीलाई बलियो बनाउन वैचारिक स्पष्टता र सांगठनिक अनुशासन अनिवार्य रहेको बताउनु भयो ।




