नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवद्र्धन र विकास बिना देशमा आर्थिक क्रान्ति सम्भव नभएको बताउनुभएको छ ।
घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उहाँले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन र औद्योगिक क्रान्ति अनिवार्य शर्त रहेको उल्लेख गर्नुभएधको हो । वरिष्ठ उपाध्यक्ष वैद्यले साना तथा घरेलु उद्योग महासंघले जिल्ला तहसम्म पुगेर गरिरहेको कार्यको प्रशंसा गर्दै सरकारले यस क्षेत्रलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले महासंघको वरिष्ठ उपाध्यक्षको हैसियतले अबका दिनमा वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ र साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । विशेषगरी वस्तुगत संघका सदस्यहरूको सक्रियताले महासंघलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । सरकारी बजेट र तालिम कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै उपाध्यक्ष वैद्यले हाल सञ्चालित सीपमूलक कार्यक्रमहरूले लक्षित वर्गलाई समेट्न नसकेको टिप्पणी गर्नुभयो । आर्थिक, सीपमूलक र आयमूलक तालिमहरू (महिला, युवा तथा कृषक लक्षित) स्थानीय सरकारको अगुवाइमा भएपनि त्यसको प्राविधिक समन्वय र कार्यान्वयन निजी क्षेत्रका छाता संगठनहरूमार्फत हुनुपर्ने उहाँको प्रश्ताव छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको समन्वयमा जिल्लास्तरका तालिमहरू सञ्चालन गरिए मात्र वास्तविक उद्यमीले अवसर पाउने र तालिमपश्चात रोजगारी सिर्जना हुने वैद्यले बताउनु भयो । उहाँले आगामी दिनमा दुवै महासंघले साझा समिति बनाएर सरकारसँग प्रभावकारी रूपमा समन्वय गर्ने योजना रहेको समेत बताउनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले निजी क्षेत्र सशक्त भए मात्र सरकारको सम्भावित हस्तक्षेप र दबाबलाई निरुत्साहित गर्न सकिने बताउनु भयो । निजी क्षेत्र कमजोर हुँदा सरकारले थिच्न खोज्ने उल्लेख गर्दै उहाँले उद्योगी व्यवसायीहरू संगठित र बलियो हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष सिंहले निजी क्षेत्रका प्रमुख चार संस्थाहरू— नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल चेम्बर अफ कमर्सबीचको कार्यगत एकता र आपसी सद्भाव अपरिहार्य रहेको उल्लेख गर्नुभयो । नेतृत्व तहमा एक–अर्कालाई स्वागत गर्ने र सहकार्य गर्ने परम्पराले यी संस्थाहरूलाई थप जीवन्त बनाउने उहाँको विश्वास छ । उहाँले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ लगायतका पदाधिकारीहरूसँगको सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझ प्रगाढ बनाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
संस्थाहरूबीचको एकताले नै निजी क्षेत्रका समस्या समाधान गर्न र सरकारलाई जिम्मेवार बनाउन मद्दत पुग्ने अध्यक्ष सिंहको ठहर छ । उहाँले एकपक्षीय प्रयासले मात्र उपलब्धि हासिल नहुने भन्दै सबै व्यावसायिक संस्थाहरूलाई एकजुट भएर अघि बढ्न आह्वान समेत गर्नुभयो ।




