नेपाली इतिहासको निकै त्रासदीपूर्ण र अकल्पनीय घटनाका रूपमा लिइने नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । वि.सं. २०५८ जेठ १९ गते राति नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो । आजको दिनलाई नेपाली जनताले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको स्मरण गर्दै शोक दिवसका रूपमा सम्झने गर्दछन् । २५ वर्षअघि आजकै दिन रात्रिकालीन भोजका क्रममा भएको सो घटनामा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमार धीरेन्द्र, अधिराजकुमारी जयन्ती, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा र कुमार खड्गविक्रम शाहको निधन भएको थियो । नेपाली इतिहासको सबैभन्दा रहस्यमयी घटना मानिने यस हत्याकाण्डको यथार्थ विवरण अझै पनि पूर्ण रूपमा सार्वजनिक हुन नसकेको भन्दै आम नागरिकमाझ समय–समयमा विभिन्न जिज्ञासा र बहस हुने गरेको छ । स्वर्गीय राजा वीरेन्द्रलाई एक भद्र, जनप्रेमी र विकासप्रेमी राजाका रूपमा स्मरण गरिन्छ । उनले नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वमाझ राखेर नेपालको कुटनीतिक छवि उच्च बनाउन विशेष योगदान दिएका थिए । आजको दिन पारेर देशका विभिन्न स्थानमा राजा वीरेन्द्रको सालिकमा माल्यार्पण तथा उनी र उनको परिवारको सम्झनामा श्रद्धाञ्जली सभा र दीप प्रज्वलन जस्ता कार्यक्रमहरू गरिँदै छ ।




