काठमाडौँ ।
मुलुकका विभिन्न भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत पहाडी तथा हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । साथै, मधेस प्रदेशसहित कोशी, वागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानहरूमा समेत वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आज दिउँसो हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । यसैगरी, आज राती लुम्बिनी, सुदूरपश्चिम र देशका हिमाली भू–भागमा साधारणतया बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । तराईका भू–भागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ । राती सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा समेत हल्का हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।




