काठमाडौँ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोली एशियाली खेलकुदमा पदक जित्ने स्पष्ट लक्ष्यका साथ अघि बढेको बताउनुभएको छ । छनोट प्रतियोगिताको पूर्वसन्ध्यामा टोली बिदाई गर्न आयोजित कार्यक्रममा शुभकामना दिँदै सचिव खड्काले वर्तमान लय र तयारीका आधारमा नेपाल पदकको बलियो दाबेदार रहेको उल्लेख गर्नुभयो । सन् २०२८ को ओलम्पिकमा समेत क्रिकेट समावेश भइसकेको परिप्रेक्ष्यमा एशियाली खेलकुदको महत्व झन् बढेको खड्काले बताउनु भयो । सन् २०१० देखि एशियाली खेलकुदमा क्रिकेट प्रवेश गरेपछि नेपालले छनोट चरण पार गर्दै मुख्य प्रतियोगितामा पदक जित्ने सपना बोकेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ । टी–२० फम्र्याटको खेलमा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर आँक्न नहुने भन्दै उहाँले सचेत गराउनु भयो ।
नेपाली टोलीको तयारी सन्तोषजनक रहेको बताउँदै सचिव खड्काले क्यान, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सम्पूर्ण क्रिकेट प्रेमीहरूको तर्फबाट टोलीलाई सफलताको शुभकामना दिनुभयो । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक स्टुअर्ट लले आगामी प्रतियोगिताका लागि नेपाली खेलाडीहरू पूर्ण रूपमा तयार रहेको बताउनु भयो । टोलीको तयारी र योजनाबारे जानकारी दिँदै उहाँले खेलाडीहरूले पछिल्लो समय पर्याप्त क्रिकेट खेलेकाले उनीहरू उच्च मनोबलका साथ मैदान उत्रिने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक लकाअनुसार राष्ट्रिय टोली र ‘ए’ टोलीका सदस्यहरूले पछिल्ला केही हप्तादेखि निरन्तर खेलिरहेका छन् । जसले गर्दा सबै खेलाडीहरू लयमा रहेका छन् । विगत दुई दिनदेखि टोलीले विशेष गरी टी–२० क्रिकेटमा केन्द्रित रहेर अभ्यास गरिरहेको उहाँले जानकारी दिनुभयो ।जापानमा हुन लागेको यस प्रतियोगितालाई प्रशिक्षक लले एउटा महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्नुभयो । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खासै नभएको स्थानमा खेल्न पाउनु र जापानमा क्रिकेट विकासको प्रारम्भिक हिस्सा बन्न पाउनु नेपाली टोलीका लागि सकारात्मक पक्ष भएको उहाँको भनाइ छ । सिंगापुरको भ्रमण र त्यहाँको क्रिकेट वातावरणलाई लिएर पनि आफू उत्साहित रहेको उहाँले बताउनु भयो । सिंगापुर हुँदै अघि बढ्ने क्रममा त्यहाँको खेल परिस्थिति बुझ्न सहज हुने उहाँको अपेक्षा छ । प्रशिक्षक लले टोलीले राखेको लक्ष्य पूरा हुनेमा आफू आशावादी रहेको र सफल नतिजासहित स्वदेश फर्कने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान दीपेन्द्र सिंह ऐरीले आगामी सिंगापुर भ्रमणका लागि टोलीको तयारी तिब्र र उत्साहजनक रहेको बताउनु भयो । कप्तान ऐरीले हाल टोलीको वातावरण अत्यन्तै सकारात्मक रहेको र खेलाडीहरू उच्च मनोबलका साथ अभ्यासमा व्यस्त रहेको जानकारी दिनुभयो । उहाँले टोलीको वर्तमान लय र तयारीलाई हेर्दा सिंगापुरमा हुने प्रतिष्पर्धामा नेपालले राम्रो नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाली टोलीले पछिल्लो समय आफ्नो प्रदर्शनमा सुधार गर्दै वैदेशिक भ्रमणका लागि विशेष तयारी गरिरहेको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एशियन गेम्स छनोटमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्दैछ । टोलीमा दीपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, सन्दीप जोरा, लोकेश बम, शेर मल्ल, नन्दन यादव, शाहब आलमलगायतका खेलाडी समावेश छन् । टोलीमा कुशल मल्लले पुनरागमन गरेका छन् ।




