काठमाडौँ । एक समय एशियाली खेलकुदमा नेपालका बक्सिङ खेलाडीले सुखद् नतिजा दिएको गर्विलो इतिहास छ । सात दशकभन्दा बढी लामो इतिहास बोकेको एशियाली खेलकुदको १९ औं संस्करण सम्पन्न हुँदा नेपालले बक्सिङमा ६ वटा काँस्य पदक जितिसकेको छ । जुन नेपाली खेलकुदका लागि यो सफलता दिने दोस्रो ठूलो खेल हो । तेक्वान्दोले एक रजतसहित १४ पदक एशियाली खेलकुदमा जितेको इतिहास छ । तर एशियाली खेलकुदमा नेपालका लागि सबैभन्दा राम्रो नतिजा दिने दोस्रो सफल खेल पछिल्ला तीन संस्करणमा नतिजाविहीन बन्दै आएको छ । सन् २०१० को एशियाली खेलकुदयता नेपाली बक्सरले पदक दिलाउन सकेका छैनन् । लामो समयदेखि तयारी र पछिल्ला समय अन्तर्राष्ट्रिय स्तरमा सुखद नतिजा दिलाएकाले यसपल्ट २० औं एशियाली खेलकुदमा नेपाली बक्सिङले पदक जित्ने आशा गरेको छ ।
मिसन २०२६ को नामबाट तत्कालीन सदस्यसचिव टंकलाल घिसिङले गत एशियन गेम्स सकिएलगत्तै यस संस्करणको तयारी गराएका थिए । त्यो तयारी निरन्तरता हुँदा खेलाडीमा पनि आत्मबल बढेको छ । नेपाली टोलीका प्रशिक्षक दीपक महर्जनले पनि लामो समय देखिको तयारी र चन्द्रबहादुर थापाले आइबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपमा जितेको ऐतिहासिक काँस्य पदकले सबैलाई प्रोत्साहित गराएको बताएका छन् । पछिल्ला समयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि खेलाडीलाई राम्रो सेवासुविधा दिएकाले थप हौसला बढेको उनको विश्वास छ । दुई जना खेलाडीले तीन वर्षको तयारीमा केही समय छुटाए पनि अन्यले नियमित राष्ट्रिय टोलीमा प्रशिक्षण गर्दै आएको उनी बताउँछन् । उनले चन्द्रबहादुरसँगै अन्य खेलाडीबाट पनि पदक जित्ने आशा गरे ।
एशियन गेम्सका लागि नेपालका सात बक्सरले जापानमा हुने २० औं एशियाली खेलकुदका लागि भारतको आसामस्थित गुवाहटीमा गर्दैछन् । नेपाली खेलाडीले स्पोटर््स अथोरिटी अफ इण्डिया (साइ) अन्तर्गत नेसनल सेन्टर अफ एक्सिलेन्समा ४० दिने प्रशिक्षणमा रहनेछन् । जहाँ विश्व च्याम्पियन बक्सर उत्पादन भइसकेका छन् । नेपाली बक्सिङ टोलीका प्रशिक्षक दीपक महर्जनले त्यो स्थानमा प्रशिक्षणपछि खेलाडीमा थप आत्मबल बढ्ने आशा गरे । भारतका उत्कृष्ट प्रशिक्षक पनि नेपाली खेलाडीको प्रशिक्षण जोडिनेछन् । त्यो प्रशिक्षणले खेलाडीको टेक्निकल रूपमा पनि सुधार आउने उनको विश्वास छ । यसबीच पनि ट्रायल म्याच र स्किल टेस्ट हुने प्रशिक्षक महर्जन बताउँछन् ।
पछिल्लो तीन संस्करण नेपालको बक्सिङ एशियाली खेलकुदमा पदकविहीन रहँदै आएको छ । पछिल्लोपल्ट सन् २०१० को ग्वाङ्झाउ एशियन गेम्समा नेपालले काँस्य जितेका थियो । त्यो एशियन गेम्सका पदक विजेता उनै दीपक महर्जन हुन् । हाल प्रशिक्षकको भुमिका रहेका दीपक आफूले पूरा गर्न नसकेको सपना खेलाडीबाट सम्पन्न गर्ने आशा व्यक्त गरेका छन् । उनले सबैभन्दा धेरै आशा चन्द्रबहादुर राखेका छन् । किनकी चन्द्रले आफूलाई प्रमाणित पनि गरिसकेका छन् । अन्य खेलाडीले पनि पदक जित्ने प्रशिक्षक दीपकको विश्वास छ । सबै खेलाडी फिट र उत्साहित रहनु नै महत्वपूर्ण पक्ष रहेको उनी बताउँछन् ।
जापानको आइची/नागोया शहरमा आगामी असोज ३ गतेदेखि शुरु हुँदैछ । नेपालका चार पुरुष र तीन महिला बक्सरल एसियाली खेलकुदमा चुनौती दिँदैछन् । चन्द्रबहादुरले तयारी राम्रो भएकाले बताए । त्यसैले सबैको आशाअनुरूप पदक जित्नेमा आफू आशावादी रहेको विश्वास व्यक्त गरे । भारतको प्रशिक्षणले थप अनुभव बढ्ने उनको आशा छ । फाइट पार्टनरसँग केही समय खेल्दा आफ्नो स्तर मापन हुने र सुधार गर्ने अवसर मिल्ने चन्द्रबहादुर बताउँछन् । त्यहाँको प्रशिक्षणले सबै खेलाडीमा प्रोत्साहन मिल्ने उनको आशा छ ।
१६ वर्षदेखि एशियन गेम्समा पदकविहीन यात्रामा पूर्णविराम लगाउनेमा खेलाडीहरू पनि विश्वस्त छन् । यसका लागि सबै खेलाडीले धेरै मिहेनत पनि गरेका छन् । एशियाली खेलकुदमा नै पदक जितेका प्रशिक्षक टोलीमा हुँदा उनीहरूमा आत्मबल बढेको छ । प्रशिक्षक दीपक महर्जनभन्दा पनि राम्रो नतिजा दिलाउने लक्ष्यसहित आफूहरूले मिहेनत गरेको खेलाडी रमिशा श्रेष्ठ बताउँछन् । पहिलो चरणमा खेलाडी आशावादी र मानसिक रूपमा पदक जित्छौं भन्नेमा विश्वस्त नभए सफल नहुने रमिशाको बुझाइ छ । उनले भारतमा धेरै खेलाडीसँग स्पाइरिङ पार्टनर हुनु आफूहरूका लागि अर्को महत्वपूर्ण पक्ष रहेको उल्लेख गरिन् । बक्सिङमा राम्रो गरेको भारतमा प्रशिक्षण सुखद पक्ष रहेको रमिशाको विश्वास छ । तयारीसँगै एशियन गेम्सका लागि आवश्यक सामग्री पनि समयमा उपलब्ध भए राम्रो हुने उनले बताइन् ।
सात खेलाडीसहित ९ सदस्यीय नेपाली टोली आसाम गइसकेको छ । पुरुष ५५ केजीमुनि चन्द्रबहादुर थापा, ६० केजीमुनि खगेन्द्र रोका मगर, ७० केजीमुनि दानबहादुर दर्लामी र ९० केजीमुनि रविन नेपालले प्रतिष्पर्धा गर्ने छन् । महिला ५१ केजीमुनि रमिशा, ५४ केजीमुनि अस्मिता तामाङ र ६५ केजीमुनि कुसुम तामाङले प्रतिस्पर्धा गर्नेछन् । नेपाली टोली त्यत्तैबाट जापान जाने तालिका छ । सात खेलाडीमध्ये रविनले दोस्रोपल्ट एसियन गेम्स खेल्न लागेका हुन् । रविनले १९औं एसियाली खेलकुदमा प्रतिष्पर्धा गरेका थिए । नेपाली टोलीको अर्का प्रशिक्षकमा राज श्रेष्ठ छन् ।दक्षिण कोरियाको सिओलमा सन् १९८६ मा भएको १० औं संस्करणदेखि नेपालको बक्सिङले पदक जितेको हो । त्यसबेला चार काँस्य पदक जितेको थियो । बाँकी दुई संस्करणमा बक्सिङले पदक जित्दै नेपाललाई पदकविहीन हुनबाट जोगाएको थियो । सन् १९९० मा चीनको बेइजिङमा भएको ११औं संस्करणमा चित्रबहादुर गुरुङले र पछिल्लोपल्ट दीपकले १६औं संस्करणमा पदकविहीन हुनबाट जोगाएका थिए । उनै दीपक टोलीको प्रशिक्षक रहँदै फरक भूमिकाबाट पदक दिलाउने लक्ष्यमा छन् ।




